काठमाडौँ, ३ असार : रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले सोमबार गाउँकार्यपालिकाको कार्यालयमा एम्बुलेक्सको साँचो पालिका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गर्नुभयो । उक्त एम्बुलेन्स गाउँपालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ ।
आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पु¥याउने उद्देश्यले आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो । कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङ्मो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ । उक्त आयोजना प्रभावित आमाछोदिङ्मो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थपोष्टले सञ्चालन गरिरहेको छ । कार्यक्रममा कम्पनीका सिइओ मिनले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिएर एम्बुलेन्स उपलब्ध गराइएको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष अर्यालले एम्बुलेन्सबाट विकट एवं दुर्गम भेगका बासिन्दालाई आधुनिक स्वास्थ्य सेवासम्म पहुँच पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आयोजना प्रभावित क्षेत्रका पालिकाहरूसँग समन्वय गरी एम्बुलेन्स सञ्चालन गर्न सङ्घीय सरकारले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिएका मापदण्डबमोजिम खरिद गरिएको बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्स आयातमा लाग्ने राजस्व सङ्घीय सरकारबाट राजस्व छुट भई रु २५ लाख खरिद गरिएको हो । आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म रु १७ करोड भन्दा बढी खर्च गरिसकिएको आयोजनाले जनाएको छ ।
कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायत संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
आयोजनाको मुख्य निर्माण विसं २०७८ पुसदेखि सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायत सम्पूर्ण संरचना निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ६३ प्रतिशत रहेको छ । आयोजनाको कूल नौ दशमलव पाँच किलोमिटर लामो सुरुङमध्ये ४०० मिटर मात्र खन्न बाँकी छ । हाल आयोजनामा कार्यरत एक हजार जनशक्तिमध्ये ४० प्रतिशत आयोजना प्रभावित रसुवा जिल्लाका छन् । आयोजना निर्माणका लागि इञ्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी (इक्विटी) रहेको छ ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कूल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा नौ अन्तरराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपँुजीबाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८ दशमलव ७५ प्रतिशत हिउँदयाममा र ६१ दशमलव २५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बीहब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अध्यधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाको निर्माण विसं २०८३ को मङ्सिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।