काठमाडौँ, २ असार : सांसद कालुराम राईले सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई समेत सम्बोधन गर्ने आएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिादै उहाँले बजेटले सबैलाई सम्बोधन गर्न सफल भएको दाबी गर्नुभयो ।
“आगामी आवको बजेटमा वास्तवमा अर्थतन्त्र सुधार गर्ने खालको छ, बजेट राम्रो हुँदा पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ, प्रभावकारी कार्यन्वयनका लागि सरकार सक्षम बनोस्,” राईले भन्नुभयो । यद्यपि बजेटमा अपाङ्गता भएका व्यक्तिले खेल्ने पारा खेलका लागि कुनै व्यवस्था नभएको समेत उल्लेख गर्नुभयो ।
सांसद राजु थापाले बजेटको कार्यान्वयनको मुख्य चुनौती पुँजिगत खर्च भएको बताउनुभयो । “बजेटलाई सफल बनाउन पुँजीगत खर्च बढाउनुपर्छ, कम्तीमा ९० प्रतिशतसम्म खर्च गर्न सकियो भने बजेट सफल हुन्छ”, उहाँले भन्नुभयो ।
सांसद थापाले बजेटले आधुनिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राख्न्, दिगो विकास र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्ने उद्देश्य रहनु स्वागतयोग्य रहेको बताउनुभयो । सांसद प्रभु हजाराले विगतका वर्षभन्दा पनि आगामी आवको बजेटले मुलुकको आर्थिक अवस्थालाई सम्बोधन गरेको दाबी गर्नुभयो । “बजेट राम्रो र पादरर्शी छ, बजेटले लिएका लक्ष्य पूरा गर्न सकिने खालका छन्”, उहाँले भन्नुभयो, “बजेटमा विगतका अधुरा योजना पूरा गर्ने लक्ष्य राखिएको छ, समृद्ध नेपाल र सुखी नेपाली लक्ष्यको प्राथमिकतामा बजेट प्रस्तुत भएको छ । स्वास्थ्य क्षेत्रमा विभिन्न खालको योजना राखिनु स्वागतयोग्य छ ।”
सांसद रामकृष्ण यादवले बजेट स्वागतयोग्य रहेको भन्दै समर्थन जनाउनुभयो । “विगतक वर्षमा टुक्रे योजना धेरै समावेश भएका थिए । यसपालिको बजेटमा धेरै हदसम्म सुधार भएको देखिएको छ”, उहाँले भन्नुभयो ।
यादवले राष्ट्रिय गौरवाको आयोजनाका रुपमा रहेको १६ वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्ग बनाउन थप दुई वर्षको लक्ष्य लिए पनि लक्ष्य पूरा गर्न छट्याइएको बजेट अपुग भएको बताउनुभयो ।
सांसद वासुदेव घिमिरेले नविन सोच र प्रविधिको प्रयोगसहित उद्योग, व्यापार, पर्यटन, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राख्दै मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धतासहितको बजेट आएको बताउनुभयो । “सरकारले राजश्व सुधार र खर्च नियन्त्रणका लागि केही उपाय अवलम्बन गरेको छ तर अझै करको दर घटाइ दायरा बिस्तार गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।
सांसद किरणकुमार साहले बजेटमा तराईका बाढी प्रभावित क्षेत्रको समाधानका लागि दीर्घकालीन योजना नदेखिएको भन्दै गुनासो जनाउनुभयो । “तटबन्ध निर्माण, पूल निर्माण अधुरै छन्, ती छिटो निर्माण हुनुपर्छ,” उहाँले भन्नुभयो । सांसद रामहरि खतिवडाले बिग्रेको अर्थतन्त्रलाई लयमा ल्याएर बजेट प्रस्तुत गर्ने काम भएको बताउनुभयो । “पर्यटनको सम्भावना रहेको क्षेत्र अधिक छन् त्यसलाई व्यवस्थित गरेर लानुपर्छ,” उहाँले भन्नुभयो ।