काठमाडौँ, १ असार : प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभा बैठकमा आजै पेस गर्ने तयारी रहेको बताउनुभएको छ ।
लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवं हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसद् बैठकमा पेस गर्ने जानकारी गराउनुभएको हो ।
सभापति खतिवडाले नेपालमा प्रजातन्त्रको स्थापनासँगै विधिको शासन र योग्यतामा आधारित कर्मचारीको व्यवस्थापन गर्न लोक सेवा आयोगको स्थापना भएको बताउँदै आयोगका कामकारबाही अहिलेका पुस्ताका लागि पनि पे्ररणादायी भएका उल्लेख गर्नुभयो ।
आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको इतिहास र कामकारबाहीका बारेमा जानकारी गराउँदै आयोगले योग्यता, निष्पक्षता र स्वच्छतामार्फत कर्मचारी छनोट गर्दै आएको बताउनुभयो । उहाँले आयोगले निजामती कर्मचारीका साथै पछिल्लो समय सुरक्षा निकाय र सङ्गठित संस्थाका लागि भर्ना प्रक्रियाका काम गर्दै आएको भन्दै कार्यक्षेत्राधिकार वृद्धिसँगै आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गरेकोे उल्लेख गर्नुभयो ।
आयोगका सदस्य दिनेश सिलवालले धन्यवाद ज्ञापन गर्दै आयोगले आफ्नो विश्वसनीयता सधैँ कायम राखिराख्न आफ्ना योजना र कामकारबाहीलाई समयानुकूल परिमार्जन गर्दै आएको उल्लेख गर्नुभयो । आयोगका सचिव किरणराज शर्माले स्वागत गर्दै आयोगले योग्यता, निष्पक्षता र स्वच्छतामार्फत जनमानसमा विश्वासको पर्यायवाची बनेको उल्लेख गर्नुभयो ।