विश्व ‘वेलनेश’ दिवस मनाइयो

  जेठ ३२, २०८२

काठमाडौँ ३१ जेठ : नेपालमा स्पा र वेलनेशमार्फत पर्यटन प्रर्वद्धन गर्न विश्व ‘वेलनेश’ दिवस मनाइएको छ ।

स्पा सङ्घ नेपालले विश्व वेलनेश दिवसका अवसरमा आज काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलदेखि नेपाल पर्यटन वोर्ड भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरेको हो ।

विश्व वेलनेश दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले मसाज, स्पा, थेरापी, वेलनेशमार्फत पर्यटन प्रवर्द्धनका लागि स्पा सङ्घ नेपालले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

उपाध्यक्ष सापकोटाले वेलनेस मनोरञ्जनको साधन नभएर स्वास्थ्य र आर्थिक समृद्धिको आधार हुनसक्ने बताउनुभयो । उहाँले नेपालकोे पर्यटन मौसममा निर्भर रहेकाले यसलाई वर्षभरि नै सञ्चालन गर्न वेलनेश पर्यटनको अवधारणालाई बोर्डले जोड दिएको बताउनुभयो । पर्यटकको बसाइ अवधि बढाउन पनि वेलनेश पर्यटनबाट सहयोग पुग्ने उहाँको भनाइ थियो ।

पाटा नेपालका अध्यक्ष खेमराज लकाइले विश्व स्वास्थ्य सङ्गठनले अबको दशकको मुख्य समस्या मानसिक स्वास्थ्य रहने र त्यसबाट मुक्तिका लागि आरोग्य पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो । स्पालाई मनोरञ्जनबाट पर्यटकीय सम्पदा मान्नु सराहनीय रहेको उहाँको भनाइ थियो ।

स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले व्यस्त र तनावपूर्ण जीवनलाई कम गर्नका लागि स्पा र वेलनेशको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सन् २०१२ मा पहिलोपटक टर्कीमा वेलनेश दिवस मनाउन सुरु गरे पनि नेपालमा भने दोस्रो वर्ष उक्त दिवस मनाउन लागिएको छ ।

सो अवसरमा ठमेल पर्यटन परिषद्का महासचिव बद्री तिमिल्सिना, नेपाल होटल एशोसियसनका सदस्य अश्लेसा कार्कीलगायतले नेपाललाई वेलनेस पर्यटनको सम्भावनाकाबारे बोल्नुभएको थियो ।

स्पा सङ्घ नेपालका महासचिव अमृत थोकरले प्रत्येक वर्षको जुनको दोस्रो शनिबार विश्व वेलनेश दिवस मनाउँदै आइएको जानकारी दिनुभयो । हाल विश्वका १७० देशमा उक्त दिवस मनाउँदै आएको महासचिव थोकरले बताउनुभएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया