राष्ट्रिय महिला भलिबल : पुलिस र एपिएफ फाइनलमा

  १९ घण्टा अगाडि

कास्की, ३० जेठ : पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न सेमिफाइनल खेल जित्दै यी दुई टोलीले फाइनलको यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबमाथि सोझो सेटमा सहज जित दर्ता गर्दै फाइनल पुग्न सफल भयो । पुलिसले एभरेष्टलाई २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा हराएको हो ।

यसअघि पोखरामा केही साताअघि सम्पन्न भएको नवौँ प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगितामा उपाधि जितेको पुलिसले पुनः दोस्रो उपाधि रक्षा गर्ने दाउमा छ ।

यसैगरी एपिएफले न्यू डायमण्डलाई सोझो सेटमा हराएको हो । एपिएफले २५–१७, २६–२४ र २५–१९ को सेटमा डायमण्डलाई पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ गतेदेखि सुरु प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजक स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडीले रु २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया