समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार : नेपाल

  १९ घण्टा अगाडि

काठमाडौँ, ३० जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त र कार्यक्रमको अवलम्बन गरेको बताउनुभएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज आयोजित कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष नेपालले देश र जनताको हितलाई सर्वोपरि राखेर पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गरेको भूमिकाबाट कतिपय व्यक्तिहरू आत्तिएर पार्टी विभाजन गराउन उद्यत रहेको आरोप लगाउनुभयो ।

कम्युनिष्ट पार्टीको टुटफुटले समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न नसकिएको बताउँदै उहाँले त्यसले जनतामा निराशा र आक्रोश बढेको विचार व्यक्त गर्नुभयो । उहाँले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरण नीतिगत निर्णय भएकाले आफू निर्दोष रहेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले संविधानप्रदत्त मन्त्रिपरिषद्मा नीहित नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको बताउनुभयो ।

पार्टीले उक्त मुद्दा प्रतिरक्षाका लागि कानुनविद् सम्मिलित कार्यदल गठन गरेको बताउँदै उहाँले सो विषयमा अदालतबाट छिट्टै न्याय निरुपण हुने विश्वास व्यक्त गर्नुभएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया