काठमाडौँ, ३० जेठ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज काठमाडौँमा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव-२०८२’ अयोजना गरेको छ । काठमाडौँको नेपाल पुलिस क्लबमा उक्त उत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले उद्घाटन गर्नुभएको हो ।
राज्यमन्त्री चौधरीले नेपालका रैथाने गीतसङ्गीतको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले यसले देशको सङ्गीतसम्बन्धीको अनुभव आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उत्सवमा नेपाली लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक प्रस्तुति भएको छ । उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका वुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र कलेजका विद्यार्थी सहभागी छन् ।
अहिले जारी उत्सवमा कोशी प्रदेशबाट आठ पहरिया राई जातिको ढोल नाच, माखण्डासे गीत, मधेस प्रदेशबाट मिथिला सङ्गीत र भोजपुरी गीत, बागमती प्रदशेबाट घ्याङ्ताङ निस्से नाच र फकन्दली नृत्य (नेपाल भाषा) प्रस्तुत हुनेछ ।
यस्तै गण्डकी प्रदेशबाट झाम्रे र यानिमाया नृत्य, लुम्बिनी प्रदेशबाट डिग्रे पैसरी र लस्के नृत्य, कर्णाली प्रदशेबाट टप्पा गीत र झ्याउरे नृत्य, सुदूरपश्चिमबाट देउडा र छलिया नृत्य प्रस्तुत गरिने छ ।
उत्सवमा कवि लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो?’ कवितालाई वीरेन्द्र हमालको निर्देशनमा नाट्यमञ्चनसमेत गरिने जनाइएको छ । प्रतिष्ठानले नेपालका सातै प्रदेशका मौलिक र रैथाने गीतसङ्गीत, नृत्य एवं नाटकलाई उपत्यकासँग परिचित गराउँदै संस्कृति आदालतप्रदानका लागि उक्त सङ्गीत तथा नाट्य उत्सव आयोजना गरेको कुलपति निशा शर्माले बताउनुभयो ।
सातै प्रदेशका चर्चित तथा उदाउँदा कलाकारलाई एउटै मञ्चमा सहभागी गराइएको उत्सवले नेपाली मौलिक धुन, वाद्ययन्त्र र नाट्य परम्पराको पुनरावालोकन गर्दै नवप्रवर्तनशील सिर्जनशीलतालाई उजागर गर्न सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रम संयोजक प्रतिष्ठानका उपकुलपति शम्भू राईले बाह्य संस्कृतिको उपनिवेश एवं आन्तरिक सांस्कृतिक दबाबका कारण अल्पसङ्ख्यक जाति, भाषी समुदायका लोकसंस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले ती लोक संस्कृति जगेर्नाका लागि प्रज्ञा-प्रतिष्ठानले यो उत्सव आयोजना गरेको बताउनुभयो ।
उद्घाटन समारोहमा प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा, प्रगतिले स्वागत मन्तव्य दिँदो उत्सवमार्फत सङ्गीत तथा नाट्य क्षेत्र महत्वलाई अझ माथि पुर्याउने प्रयास गरिएको बताउनुभएको राससले जनाएको छ ।