काठमाडौँ, ३० जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
हिमालयन उद्धार सङ्घद्वारा आज साँझ यहाँ आयोजित उद्धार तालिम समापन समारोहमा उहाँले सरकारले पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी नीति तथा कानुन बनाइरहेको बताउँदै निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्त्री पाण्डेले नेपाल प्राकृतिक स्रोतसाधान, सम्पदा र संस्कृतिले धनी मुलुक भएकाले यसलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धि हासिल गर्न नीतिगत सुधारमा सरकार लागेको उहाँको भनाइ छ । उहाँले पर्यटकलाई सुरक्षा छ भन्ने आत्मबल बढाउन यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हिमालय उद्धार सङ्घका अध्यक्ष डम्बर पराजुलीले पर्वतारोहण क्षेत्रमा जाने पर्यटकलाई यात्राका क्रममा आउने समस्या र उद्धारलाई ध्यान दिएर सङ्घले उद्धार तालिम प्रदान गरेको जानकारी दिनुभयो ।
तालिममा डा कमल थापा, सुवास दवाडी, सुमन आचार्य, सुरज आचार्य, गोविन्द बस्याल, थानेश्वर भण्डारी, प्रकाश खत्री, प्रज्वलराम घिमिरे, आङदावा शेर्पा, तुलसिंह गुरुङ, मोहनविक्रम केसीलगायत १८ जनाभन्दा बढीको सहभागिता थियो । तालिम समापन कार्यक्रममा मन्त्री पाण्डेले सहभागीलाई तालिमको प्रमाणपत्र वितरण गर्नुभएको राससले जनाएको छ ।