गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री

  २१ घण्टा अगाडि

कञ्चनपुर, ३० जेठ : गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर रुपमा निःशुल्क पोषण सामग्री उपलव्ध गराउदै आएको छ । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सुत्केरीलाई अण्डा, चना, साबुन, नून र रुमाल प्रदान गर्दै आएको छ ।

यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव गहिरो र दीर्घकालीन रहेको पिपलाडी आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) दिलबहादुर धामी बताउनुहुन्छ । “चालु आर्थिक ववर्ष २०८१-८२ मा ३४ महिलालाई पोषण सामग्री प्रदान गरेका छौँ”, उहाँले भन्नुभयो, “सात वर्षको अवधिमा तीन सय ३० भन्दा बढी महिलालाई पोषण सामग्री उपलव्ध गराईसकेका छौँ ।”

चना र अण्डाले शारीरिक शक्ति, स्तनपानको गुणस्तर, रगतको मात्रा र आमा–शिशु दुवैको पोषण प्रभावकारी हुने गरेको पाइएको छ, भने साबुनले सरसफाइमा सजगता, सङ्क्रमणको जोखिम न्यूनीकरणमा टेवा पु¥याउने स्वास्थ्य सहायक धामी बताउनुहुन्छ । नूनले आवश्यक आयोडिन पूर्ति गर्ने कार्यसँगै थाइराइड जस्ता रोग रोकथामका लागि प्रभावकारी भूमिका खेल्छ । रुमाल शिशुको स्याहारमा उपयोगी हुन्छ ।

“सुत्केरी हुँदा पोषणयुक्त खाना खानुपर्छ भन्ने धेरै महिलालाई थाहा थिएन, वडा कार्यालयले पोषण सामग्री दिन थालेपछि मात्रै यस्तो सामग्रीको उपभोग गरे शिशु र आमाको स्वास्थ्य अवस्थालाई सुधार गर्न सकिन्छ, भन्ने बुझयौँं”, पोषण सामग्री लिनुभएकी सीतादेवी डगौराले भन्नुभयो, “वडाको सानो सहयोगले चेतनाको ढोका खोल्ने काम गरेको छ ।”

साबुनले हात धुनुपर्छ, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, नूनमा आयोडिन हुन्छ, रोगसँग लड्न सहयोग गर्छ भन्ने कुरा यस कार्यक्रमका माध्यमबाट सिक्न पाएको स्थानीय मञ्जु चौधरीले बताउनुभयो । कार्यक्रम सञ्चालन भएपछि स्तनपानको गुणस्तरमा वृद्धि हुनुका साथै महिला र परिवारमा स्वास्थ्यप्रति चेतना वृद्धि, सुत्केरी महिलामा मनोबल र आत्मसम्मान बढनुका साथै सङ्क्रामक रोग सर्ने दरमा कमी आएको पाइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया