अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार

  जेठ ३०, २०८२

अहमदावाद, गुजरात, २९ जेठ : अहमदावादमा भएको विमा दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गर्नुभएको छ ।

बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७–८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १ः३० बजे दुर्घटनाग्रस्त भएको थियो ।

एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भन्नुभयो, “प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ। उहाँको अस्पतालमा उपचार भइरहेको छ ।”

उहाँले थप्नुभयो, “मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन । आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ ।”

दुर्घटनापछि केन्द्रीय ‘रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)’ ले उद्धार र राहत कार्यमा सहयोग गर्न करिब १५० सुरक्षाकर्मी परिचालन गरेको छ ।

सीआरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “-यापिड एक्सन फोर्स (आरएएफ) को १०० बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको ‘ग्रुप सेन्टर’का जवानलाई दुर्घटनास्थलमा पठाइएको छ ।

गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) टोलीलाई उद्धार कार्यमा सहयोग गर्न परिचालन गरेको छ ।

गृहमन्त्री शाहद्वारा घटनास्थलको अवलोकन
सङ्घीय सरकारका गृहमन्त्री अमित शाहले अहमदावादस्थित विमान दुर्घटनास्थलमा राहत तथा उद्धार कार्यको समीक्षा गर्न बिहीबार साँझ घटनास्थलको अवलोकन भ्रमण गर्नुभएको छ ।

केन्द्रीय गृहमन्त्रीको साथमा नागरिक उड्डयन मन्त्री राममोहन नायडु किन्जारापु, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र गृहमन्त्री हर्ष सङ्घवी पनि घटनास्थलमा पुगेका छन् ।

एयर इन्डियाका अनुसार लण्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियाली र सात जना पोर्चुुगाली नागरिक रहेका थिए । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया