काठमाडौँ, २९ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नियमित योगमा सबै जनमानसलाई अभ्यस्त गराउन योग सम्बद्ध सङ्घसंस्थालाई आह्वान गर्नुभएको छ ।
विश्व योग दिवस मूल समारोह समितिको बैठकमा मन्त्री पन्त र मन्त्री पाण्डेले देशव्यापी रुपमा सबै क्षेत्र, समुदाय र सबै उमेर समूहका व्यक्तिमा योग अभ्यास पु-याउन आग्रह गर्नुभएको हो । मन्त्रीद्वय पन्त र पाण्डेले योगको जागरणले व्यक्तिको स्वस्थ्यकर जीवनशैली कायम गर्न सहयोग गर्ने राय व्यक्त गर्नुभयो ।
यही असार ७ गते विश्व योग दिवस मनाउने सन्दर्भमा आज मन्त्रालयमा मन्त्री पन्तको संयोजकत्वमा बसेको बैठकले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन एवं यससम्बन्धी काममा अन्य निकाय तथा संस्थाहरुसँग समन्वय र निर्देशनबारे छलफल भएको थियो । उहाँले विद्यालय तहसम्म योग पु-याउन आग्रह गर्दै दिवसलाई व्यापक बनाउन मन्त्रालयले नयाँ कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।
“सबै विद्यालय तह र युवापुस्तासम्म योग पुगोस् भन्ने उद्देश्यसहित यो दिवस मनाउँदै छौं”, मन्त्री पन्तले भन्नुभयो, “पृथ्वीको रक्षाका लागि पनि योगको महत्व छ । पूर्वीय दर्शनको महत्व आत्मसात् गराउन योग दर्शनको ठूलो महत्व छ ।”
सो बैठकका सहसंयोजक मन्त्री पाण्डेले योग नेपालीको मौलिक सभ्यता भएको भन्दै यसको स्वामित्व ग्रहण गर्नुपर्ने बताउनुभयो । त्यसका लागि मूल समारोह समितिमा परराष्ट्रमन्त्री र सचिवको उपस्थिति गराउनुपर्ने उहाँले सुझाव दिनुभयो । मन्त्री पाण्डेले आगामी दिनमा दूतावासहरुलाई यो दिवस मनाउनका लागि मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“योग हाम्रो मौलिक ज्ञान र परम्परा हो । यस दिवसलाई व्यापक बनाउन हाम्रै माध्यमबाट विश्वभर दिवस फैलाउने रणनीति पनि अख्तियार गर्नुपर्छ”, मन्त्री पाण्डेले भन्नुभयो, “आगामी वर्षमा कूटनीतिक नियोग र अन्य देशमा नेपाली दूतावासहरुले कम्तीमा अन्य देशका राजदूतलाई निम्त्याएर विश्व योग दिवस मनाउने अभ्यासको सुरुआत गर्नुपर्छ । यसले योग हाम्रो उपज हो भन्ने सन्देश जान्छ ।”
यस दिवसका अवसरमा सबै प्रदेश सरकारलाई पत्राचार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्नेबारे छलफल भएको थियो । यस्तै, सबै स्थानीय तहमा पत्रचार गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने र जिल्लास्तरमा मनाउन संरचना गठनको विषयमा छलफल भएको हो ।
आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा १३ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ । सो उपसमितिले मूल समारोह कार्यक्रमका लागि आतिथि व्यवस्थापन, जिङ्गल निर्माण, शुभकामना मन्तव्य, प्रचारप्रचार व्यवस्थापन तथा समारोह आयोजना सम्बन्धी कार्य सम्पादन गर्नेछ ।
बैठकमा सबै प्रदेश, स्थानीय तह र जिल्लास्तरीय कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । बैठकमा दुवै मन्त्रालयका पदाधिकारी, योग, साधनासम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।