राष्ट्रपति पौडेलद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, विमान आवासीय क्षेत्रमा खस्दा ठूलो क्षति

  जेठ ३०, २०८२

काठमाडौँ, २९ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रारम्भिक जानकारी अनुसार २४२ जनाको ज्यान जाने गरी भारतको गुजरात प्रदेशको अहमदाबाद विमानस्थलमा भएको यात्रुबाहक विमान दुर्घटनाप्रति नेपाल सरकारले दुःख प्रकट गरेको छ । परराष्ट्रमन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यो दुःखद घडीमा नेपाली जनता भारतीय जनताको साथमा छ, घाइतेजनको शीघ्र स्वास्थ्यलाभको कामना, विज्ञप्तिमा जनाइएको छ।

एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै जनाएअनुसार एआई – १७१ नम्बरको अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उड्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।

जुन १२ तारिख स्थानीय समय अपरान्ह १ बजेर १७ मिनेट जाँदा दुर्घटनाग्रस्त भएको हो । बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ‘ड्रीमलाइनर’को सिग्नल ६२५ फिट (करिब १९० मिटर) को उचाईमा उडेको १ मिनेट नबित्दै हराएको थियो ।

सो यात्रुवाहक विमान विमानस्थल नजिकैको आवासीय क्षेत्रमा ठोक्किएको बताइएको छ । एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको मेडिकल स्टुडेन्ट्स होस्टेलमा ५ जनाको मृत्यु भएको समाचार र फोटो इण्डियाटुडे अनलाइनमा छ ।

बोइङ ७८७-८ ड्रीमलाइनर विमान अहमदाबादको बीजे मेडिकल कलेज सिभिल अस्पतालको रेसिडेन्ट डाक्टरहरूको होस्टेलमा ठोक्किएको  थियो ।

यो विमान हवाई दुर्घटनामा ध्वस्त भएको विश्वकै पहिलो बोइङ ७८७ बनेको छ। एयर इन्डियाले जनाएअनुसार विमानमा रहेका २४२ जना यात्रीमध्ये १६९ भारतीय, ५३ बेलायती, १ क्यानेडियन र ७ पोर्चुगिज रहेको पुष्टि गरिएको छ ।

तपाईको प्रतिक्रिया