राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस

  जेठ ३०, २०८२

वाशिङ्गटन डिसी (अमेरिका), २९ जेठ : अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

बुधबार यहाँ राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको नेपाली नियोगले जनाएको छ ।

कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको कामना गर्नुभएको थियो । राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय र पारस्परिक सम्बन्ध निरन्तर वृद्धि र मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अमेरिकाले सामाजिक, आर्थिकलगायत नेपालका विकास प्राथमितामा पु¥याउँदै आएको सहयोगका लागि आभारसमेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ दायित्व बहन गर्नुभएकामा बधाई ज्ञापन गर्नुभएको थियो । उहाँले अमेरिकी सरकार दुई देशबीच सामूहिक चासोका साथ सहकार्यमार्फत सुमधुर र पारस्परिक सम्बन्ध थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया