काठमाडौँ, २८ जेठ : यहाँ जारी १५औँं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद अन्तरगत एथलेटिक्स प्रतियोगितामा बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रवीणले जुनियर छात्र एक सय मिटर दौड तथा सङ्गीताले जुनियर छात्रा चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । कीर्तिमानबापत दुवैले जनही रु १० हजार नगद पुरस्कार पाउने छन् । रानामगरले निर्धारित दूरी १०.७६ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते ।
यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेण्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए । कोशी प्रदेशका सुजन मण्डल दोस्रो तथा लुम्बिनी प्रदेशका शुभम बमरेल तेस्रो भए ।
धावक विकले निर्धारित दूरी १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितिन् । उनीले २०७६ सालमा अरुणा रिजालले स्थापित गरेको एक मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । बागमतीकी अनिशा थारु दोस्रो र कर्णालीकी कृष्णा राना तेस्रो बने ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगिताको छात्रा एक सय मिटर दौडमा बागमतीकी दिना गोपाली पहिलो भइन् । उनीले १२.८१ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी आरुशी भट्टराई दोस्रो तथा गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेस्रो भए ।
छात्र चार सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत तथा सुदूरपश्चिमका विक्रम विष्टले कांँस्य हात पारे ।
छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो भए । उनले १.६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्वलकुमार विक दोस्रो तथा गण्डकीका विवेक महतो तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १.३८ मिटर जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरी शीर्ष स्थानमा रहिन् । गण्डकीकी सविता खातुन मियाँ दोस्रो तथा कर्णालीकी हीरा बुढा तेस्रो बने ।
सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो भए । उनले १३.६१ मिटर टाढा फाले । लुम्बिनीका राजन भण्डारी दोस्रो तथा कर्णालीका केशव विक तेस्रो भए । उक्त स्पर्धाको छात्रामा बागमतिकी एलिना विकले स्वर्ण जितिन् । एलिनाले ८.६९ मिटर टाढा फालिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले कांस्य जिते ।
छात्रा एक हजार पाँच सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी पहिलो भइन् । नारायणीले ५ मिनेट ०३.९ सेकेन्डमा दूरी तय गरिन् । बागमतीकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी देवकी धामी तेस्रो भए । प्रतियोगितामा २६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको राससले जनाएको छ ।