माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुस्ताङमा

  जेठ २९, २०८२

मुस्ताङ, २८, जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज म्याग्दीको बेनी हुँदै मुस्ताङ आउनुभएको छ ।

माओवादी केन्द्रको ‘जनतासँग माओवादी जनजागरण’ अभियानका क्रममा अध्यक्ष दाहाल, महासचिव देव गुरुङलगायत नेता कार्यकर्ता सडकमार्ग हुँदै मुस्ताङ आउनुभएको हो ।

उहाँहरूलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, माओवादी जिल्ला समन्वय समिति इञ्चार्ज धीरेन्द्र विक, जिल्लास्थित सुरक्षा निकाय प्रमुखलगायत स्थानीय प्रतिनिधिले म्याग्दी र मुस्ताङको सिमानाका घाँसामा स्वागत गर्नुभएको थियो ।

अध्यक्ष दाहालले आजै राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम ७४ किमी सडकको स्थलगत अवलोकन गर्नुभएको छ । साथै माओवादी अध्यक्षसहित नेताहरूले लामो समयदेखि निर्माण अलपत्र परेको मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ जोड्ने लेते–कुञ्जो मोटरेबल पुलको स्थलगत निरीक्षण गर्नुभएको माओवादी केन्द्रका जिल्ला समिति इञ्चार्ज विकले जानकारी दिनुभयो ।

अध्यक्ष दाहाललाई थासाङस्थित कुञ्जो ताक्लुङ क्षेत्रका बासिन्दाले पुल नबेकोप्रति गुनासो राख्दै निर्माणको पहल गर्न आग्रह गरेका उहाँले बताउनुभयो । सोही क्रममा अध्यक्ष दाहालले पुल निर्माणलाई प्राथमिकतामा राखेर आफू र पार्टीले अधिकतम पहल गर्ने बताउनुभयो ।

अध्यक्ष दाहाल, महासचिव गुरुङलगायत नेताहरूले गण्डकी प्रदेशको पहिलो धौलागिरि प्राविधिक शिक्षालयको अवलोकन एवं निरीक्षण गर्नुभएको शिक्षालयका प्रधानाध्यापक खड्गबहादुर सुब्बाले जानकारी दिनुभयो । उहाँहरूलाई शिक्षालयको विस्तृत जानकारी दिँदै प्रअ सुब्बाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

अध्यक्ष दाहाल शिक्षालय प्रवेश गर्दा त्यहाँबाट देखिने धौलागिरि हिमाल र निलगिरि हिमालको दृष्यावलोकन गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिनुभएको प्रअ सुब्बाले उल्लेख गर्नुभयो ।

आजै अध्यक्ष दाहाललाई थासाङ गाउँपालिकाको कोवाङ, टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फा, स्याङलगायत गाउँमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था र स्थानीय नागरिकले स्वागत गरेका छन् । उहाँले मुस्ताङको माफौस्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको बागवानी फार्मको अवलोकन गर्नुभयो ।

अध्यक्ष दाहाललाई माओवादी केन्द्रका मुस्ताङका जिल्ला इञ्चार्ज कपिल लामासहित जिल्ला नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो । उहाँले आजै जिल्ला समन्वय समिति र पालिका समन्वय समितिलाई शपथग्रहण तथा पार्टी प्रशिक्षण गर्नुहुने इञ्चार्ज कपिल लामाले बताउनुभयो । उहाँका अनुसार अध्यक्ष दाहालले जिल्लास्थित पार्टी कार्यालयका प्रतिनिधिसँग छलफल गर्नुका साथै नागरिक संवाद गर्नुहुने कार्यक्रम छ ।

अध्यक्ष दाहालले बिहीबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुस्ताङको पार्टी कार्यालयको भवन शिलन्यास गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य ङुटुक गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया