बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे

  जेठ २९, २०८२

तनहुँ, २८ जेठ : यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले भरिभराउ हुन थालेको छ ।

हाल अस्पतालमा दैनिक १०० बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसअघि दिनमा ३५-४० बिरामी आउने गरेका थिए । अस्पतालबाट प्रभावकारी सेवा पाउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ ।”

बिरामीको सङ्ख्या दैनिक बढ्दो देखिएपछि पानीको स्रोतमा ‘कोलिफर्म’ परीक्षण गर्न थालिएको छ । “अस्पतालमा चौबिसै घण्टा सेवा दिन आएको छौँ,” उहाँले भन्नुभयो, “वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिइएको छ ।”

उपचारमा आउने बिरामीलाई टिकट निःशुल्क गरिएको छ । बन्दीपुर गाउँपालिकाका साथै छिमेकी पालिका व्यासनगर, आँबुखैरेनी र गोरखा पालुङ्गटारबाट समेत यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् ।

स्वास्थ्य बिमा कार्ड र अस्पतालको टिकट कार्ड देखाएमा बन्दीपुर केवलकारले रु. २०० मा आवतजावत गर्ने सुविधा दिएपछि गोरखा पालुङ्गटारबाट आउने बिरामी सङ्ख्या बढ्न थालेका छन् ।

तपाईको प्रतिक्रिया