आलेख : धरानको एन्फा एकेडेमी : राष्ट्रिय खेलाडी जन्माउने थलो

  जेठ २९, २०८२

धरान (सुनसरी), २८ जेठ : सङ्खुवासभामा जन्मिनुभएका रोजेश ओझाले बाल्यकालमै देख्नुभएको थियो बललाई लात्तीले हानेर धेरै टाढा पु¥याएको सपना । दैनिकजसो साँझ परेपछि साथीहरुसँग गाउँका गल्लीहरुमा फालिएका मोजा र थोत्रा कपडाले बनाइएका बल खेल्न उहाँका लागि रमाइलो मात्र बनेन, भविष्य निर्माणको अभ्यास पनि बन्न पुग्यो । उहाँ अहिले यही धरान एन्फा एकेडेमीमा एक वर्षदेखि प्रशिक्षणरत हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “छ÷सात बर्षको उमेरदेखि नै ममा फुटबल खेल्ने सोख पलाएको थियो । पनि एक दिन फुटबलको राष्ट्रिय टिममा पुग्न सक्छु भन्ने सोचले आफू सानो हुँदा गाउँमा सञ्चालन भइरहेका फुटबल प्रतियोगिताहरु हेर्न पुग्थेँ । दाइहरुले खेलेको बललाई एकपटक हान्न पाए हुन्थ्यो भन्दै खेल मैदानको वरपर ढुकेर बस्थेँ । उहाँहरुले खेल्ला उछिटिएर बाहिर गुडेको बल समात्न पाउँदा ठूलो सफलता मिलेको जस्तो लाग्थ्यो ।” त्यतिबेला देखेको सपना आज आफूलाई एन्फा एकेडेमीमा पाउँदा निकै रोमाञ्चक लागेको उहाँ बताउनुहुन्छ ।सपना देख्न मात्र ठूलो कुरा हैन रहेछ त्यसलाई पूरा गर्न कति मिहेनत चाहिन्छ भन्ने आज आफ्नै भोगाइले पुष्टि गरेको छ”, उहाँ भन्नुहुन्छ ।

एकेडेमीमा दिनमा दुई पटक अभ्यास गराइन्छ । सुरुका दिनहरुमा घण्टौँसम्मको उफ्राई र दौडाइले गर्दा गोडा दुख्थ्या,े जिउ गल्थ्यो, शरीर पूरै थकित हुन्थ्यो । तर जब प्रशिक्षकले तिमी पनि राष्ट्रिय टिममा खेल्न सक्छौँ भनेर भन्नुहुन्थ्यो, क्षणभरमै शरीरमा एकाएक ऊर्जा भरिएर आउँथ्यो, जिउ हलुका र फूर्तिलो हुन्थ्यो । उहाँ भन्नुहुन्छ, “उतिबेला पछि म पनि पक्कै राम्रो खेलाडी बन्न सक्छु भन्ने भाव मनमा जाग्ग्थ्यो । एन्फा एकेडेमीले मलाई सपना देख्न मात्र हैन त्यहाँ पुग्ने बाटो पनि देखाइदिएको छ ।”

धरानको एन्फा एकेडेमी जहाँ गल्लीमा खेलिएको बलले अन्तराष्ट्रिय मैदानको ढोका ढक्ढक्याउँछ । अहिले हजारौँ युवा यस एकेडेमीमा पस्दा आफ्ना सपनाहरु लुकाउँदैनन् । अहिले धेरै युवा यही बाटो समाएर अघि बढिरहेका छन्, फुटबलको भरमा देश चिनाउने सपना बोकेर फुटबल सिक्दै सपना बुन्दै र देशको नाम संसारमा चम्काउने भरोसा बोकेर ।

ओझाजस्तै यही भीडमा देखिनुहुन्छ सोलुखुम्बुका १५ वर्षीय प्रजल भुजेल उहाँले पनि ठूलो सपना देख्नुभएको । छ वर्षको उमेरदेखि नै फुटबलप्रति मोह राख्ने प्रजल अहिले पनि दिनहुँ धरान एन्फा एकेडेमीको खेल मैदानमा पसिना बगाइरहनु भएको छ । “गाउँका गल्लीहरुमा फालिएका मोजामा कपडा खाँदेर बनाइएका बल साथीहरुसँग खेल्थ्यौँ”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ छ बारीमा फलेका भोगटे पनि टिपेर फुटबल खेल्थ्यौँ ।” साथीहरुसँग त्यही बेलादेखि फुटबलप्रतिको मोह बढ्दै गयो भुजेललाई । राष्ट्रिय फुटबल खेलाडी बन्ने मन छ, मिममत पनि छ, उहाँ भन्नुहुन्छ, “आफूमा विश्वास पनि छ, फुटबल नखेलेको भए म तेक्वाण्डो खेलाडी कि त लाहुर बन्थेँ होला तर अहिले उहाँ फुटबलमै मन झुमाइरहनु भएको छ ।”

घरपरिवारको साथ सहयोगले उहाँलाई अझ थप हौसला दिएको छ । उहाँले भन्नुभयो, “अहिले प्रशिक्षकले पनि राम्रोसँग सिकाउनुहुन्छ लाग्छ यो सिकाइले मिहेनत गरियो भने सफल भने हुन्छाँै । कुनै एक समय हरेक सहरका गल्लीहरूमा खेलिने फुटबललाई रमाइलो मानिन्थ्यो । तर अहिले ती गल्लीका खेलाडी नै राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउन थालेका छन् । त्यो सम्भव भएको छ, धरान एन्फा एकेडेमी टेक्निकल सेन्टरको प्रभावका कारण । “हामीले यहाँ केबल फुटबल खेलाडी मात्र तयार गर्दैनाँै, यहाँ अनुशासन र आत्मविश्वास पनि सँगै सिकाउँछाँै, एन्फा एकेडेमीका प्रशिक्षक इन्दु रसाइली भन्नुहुन्छ ।

एन्फा एकेडेमीमा प्रशिक्षक बन्नुभएका पूर्वराष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री समेत रहनुभएका रसाइली २०५७ सालदेखि यहाँ खेलाडीलाई प्रशिक्षण दिँदै आउनुभएको छ । फुटबल खेलमै जीवन समर्पण गर्नुभएको रसाइलीले एन्फा एकेडेमी सुरु हुनुअघि विभिन्न ठाउँहरुमा प्रशिक्षकको रुपमा काम नगरेको भए पनि राष्ट्रिय बुढासुब्बा गोल्डकपजस्ता प्रतियोगिताहरुमा रेफ्रीको महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएको छ ।

अहिले उहाँको प्रशिक्षणमा विशेष ध्यान खेलाडीहरुको खेल्ने तरिका र रणनीतिमा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले यहाँका खेलाडीहरुलाई बल कसरी हान्ने, कुन समयमा पास दिने, कसरी डिफेन्स भाँच्ने जस्ता कुरामा तालिम दिइरहेका छौँ”, रसाइली भन्नुहुन्छ, “खेलाडीमा आत्मविश्वाससँगै प्राविधिक दक्षता विकास गर्नुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।” उहाँको अनुभव र प्रशिक्षण शैलीले अहिलेको पुस्ताका खेलाडीलाई नयाँ ढङ्गले सोच्ने र खेल्न प्रेरित गरिरहेको छ । खेलाडीको खेलप्रतिको लगाव र दशकौंको अनुभवका साथ रसाइली अझ पनि युवामाझ फुटबलको भविष्य निर्माणमा जुटिरहनुभएको छ ।

धरानका एलिन थापा विगत एक वर्षदेखि एन्फा एकेडेमीमा नियमित तालिम लिइरहनुभएको छ । सानै उमेरदेखि फुटबल खेलमा रुचि राख्ने उहाँ पनि यहाँ आएपछि फुटबलप्रतिको अभिरुचि र लगाव झन बढेको बताउनुहुन्छ । उहाँँ भन्नुहुन्छ, “तालिमको क्रममा मैले अनुशासन, समयको मूल्य, ‘टिमवर्क’ र निरन्तर अभ्यासको महत्व बुभ्mन पाएँ ।

फुटबल क्षेत्रमा झण्डै २७ वर्ष अनुभव बटुल्नुभएका अनुभवी प्रशिक्षकले अहिले एन्फा एकेडेमीमा ३१ जना खेलाडीलाई नियमित तालिम दिइरहनुभएको छ । बिहान र बेलुका गरेर दुई समय तालिम सञ्चालन गरिरहनुभएका उहाँले खेलाडीहरुको शारीरिक प्राविधिक र मानसिक विकासमा केन्द्रित भएर काम गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले फुटबल नै नछोएका खेलाडी छैनन्, फुटबल सिक्नका लागि जिल्ला हुँदै केन्द्रबाट छनोट भएर आएका खेलाडी छन् । तालिम दिन गाहे भने छैन, खेलाडीको इच्छा शक्ति र लगनशीलता छ भने उनीहरुलाई सक्षम बनाउन सहज भएको उहाँको अनुभव छ ।

इलामका १६ वर्षिय प्रनिश राई अहिले एन्फा एकेडेमीमा नियमित तालिम लिइरहनुभएको छ । एक वर्षदेखि निरन्तर तालिममा लिइरहनुभएका प्रनिशलाई फुटबलप्रतिको प्रेम भने बाल्यकालदेखि नै लागेको थियो । उहाँका बुबा पनि खेलाडी भएका कारण त्यसको प्रभाव उहाँमा पनि परेको हुनसक्छ । सानो उमेरमै घरका आँगन र गल्लीतिर प्लाष्टिकका बल त कहिले पुराना फालिएका कपडाको पोको पारेको बल बनाएर खेल्नुहुन्थ्यो । सानै उमेरबाट फुटबलमा रुचि राख्ने प्रनिश अहिले फुटबलमै भविष्य देखिरहनु भएको छ । धरानको एन्फा एकेडेमीको खेल मैदानमा पसिना बगाइरहेका उहाँले भन्नुभयो, “छोरालाई राष्ट्रिय खेलाडी बनाउने बुबाको सपना छ, मैले त्यो सपना पूरा गर्नु छ घरपरिवारको माया र सहयोगको कारण फुटबलप्रतिको लगाब र हौसला बढेको हुनसक्छ ।”

अहिले हरेक सहरको गल्लीगल्लीका युवाहरू केबल गोल हानिरहेका मात्र छैनन्, उनीहरू जीवनमा गोल ‘सेट’ पनि गरिरहेका छन् । “फुटबल भनेको खेल मात्र नभएर धेरैको सपना हो । त्यो सपना गल्लीदेखि सुरु हुन्छ र एकेडेमीजस्तो ठाउँमा आएर आकार लिन्छ”, धरानस्थित एन्फा एकेडेमीका व्यवस्थापक तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी किशोर राईले भन्नुभयो । पूर्वी नेपालको खेलकुदको सहर र खेलकुदको केन्द्र मानिने धरानमा २०५७ सालमा धरान उपमहानगरपालिका–१७ मा स्थापना भएको एन्फा एकेडेमी टेक्निकल सेन्टर हाल प्रदेशस्तरमा अत्याधुनिक खेल प्रशिक्षण दिने संस्था बनेको छ । सानै उमेरबाट फुटबल खेलप्रति रुचि राख्दै राष्ट्रिय खेलाडीको रुपमा आफ्नो ‘करियर’ सुरु गर्नुभएको राईकै नेतृत्वमा एन्फा एकेडेमी स्थापना गरिएको हो ।

नेपाली फुटबलको जरा बलियो बनाउने उद्देश्यका साथ स्थापना गरिएको यो एकेडेमीबाट अहिलेसम्म सयभन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन् । विभिन्न सहरहरुका गल्लीहरुमा रहेका प्रतिभाशाली युवा खेलाडीहरुलाई एउटै थलोमा भेला गराई व्यवस्थित थियो । गाउँ सहरका गल्लीहरुमा फुटबल खेल्दै हुर्केका युवा खेलाडीहरुलाई अन्तरराष्ट्रियस्तरको प्रशिक्षण दिने वातावरण बनाउने सपना बोकेर यो एकेडेमी सथापना गरिएको उहाँले बताउनुभयो । अहिले धरान एन्फा एकेडेमीमा ३० जना बढी खेलाडीले तालिम लिइरहेका छन् । उनीहरुको सबैको सपना एउटै छ, राष्ट्रिय जर्सी लगाएर मैदान उत्रनु । गल्लीमा बल खेल्दै हिँड्ने बालकहरु अहिले सङ्गठित प्रशिक्षणमार्फत राष्ट्रिय प्रतिनिधि बन्ने बाटोमा लागिरहेका छन् ।

तपाईको प्रतिक्रिया