काठमाडौँ, २८ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)बाट तामाङ भाषाको समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
तामाङ पत्रकार सङ्घले राससमा तामाङ भाषाको समाचार सेवा सुरु गर्न मागसहित आज ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले राससमा तामाङ भाषामा समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाउनु भएको हो । “ढिलो चाँडो तामाङ भाषामा समाचार सेवा राससमा सुरु गर्छौँ”, मन्त्री गुरुङले भन्नुभयो ।
राससमा हालसम्म नेपाली, अङ्ग्रेजी, नेपाल र मैथिली भाषामा समाचार सेवा प्रदान हुँदै आएको छ । सङ्घका अध्यक्ष नेत्र तामाङसहितको टोलीले मन्त्री गुरुङलाई भेट गरी ज्ञापनपत्र बुझाएको थियो ।
बागमती प्रदेश सरकारले तामाङ भाषालाई बागमती प्रदेशको कामकाजी भाषा घोषणा गरेको एक वर्ष पूरा भइसकेको छ । नेपालको जनगणना २०७८ अनुसार नेपालमा तामाङ भाषा बोल्नेहरुको सङ्ख्या १४ लाख २३ हजार बढी छन् । शिक्षा, सञ्चार क्षेत्रमा यसको प्रयोग कम हुँदै गएकाले तामाङ भाषा बोल्नेको सङ्ख्या घट्दो छ ।