तेस्रो पटक पनि राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीकै पोल्टामा

  जेठ २८, २०८२

गोरखा, २७ जेठ : गोरखामा सम्पन्न भएको १६ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीले हात पारेको छ । यससँगै गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीले लगातार तेस्रो पटक जितेको हो ।

आज सम्पन्न प्रतियोगितामा २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै कास्की विजेता भएको हो । विजेता कास्कीले शिल्ड र कप पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर म्याग्दी दोस्रो, १० स्वर्ण, १० रजत र १० कास्य पदक जितेर बाग्लुङ तेस्रो भएको छ । ७ स्वर्णसहित ५ रजत र ४ कास्य जितेर गोरखा चौथो र ६ स्वर्ण, १४ रजत र १२ कांस्य जितेर नवलपुर पाँचौँ बनेको छ ।

यस्तै ४ स्वर्ण, ६ रजत र १० कास्य पदक जित्दै लमजुङ छैटौँ, २ स्वर्ण ६ रजत र १७ कास्य पदक जितेर तनहुँ सातौँ, २ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेर स्याङ्जा आठौँ, १ स्वर्ण, ३ रजत र ७ कास्य जितेर पर्वत नवौँ बनेको छ ।

भलिबल र कबड्डी (महिला/पुरूष) गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा, तेक्वान्दो र कराँते खेल कभर्ड हलमा सम्पन्न भएका थिए । त्यस्तै एथलेटिक्स र उसु खेल गोरखा नगरपालिका–१० छेपेटारस्थित खेलमैदानमा सञ्चालन भएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया