‘पाशुपत विश्वकोश’ सार्वजनिक

  ८ घण्टा अगाडि

काठमाडौँ, २६ जेठः पशुपतिनाथ एवं शैव धर्मका विविध आयामलाई समेटेर ‘पाशुपत विश्वकोश’ पुस्तक सार्वजनिक गरिएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज यहाँ आयोजना गरेको पुस्तक विमोचन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलगायतले पुस्तक विमोचन गर्नुभएको हो । प्राडा सोमप्रसाद खतिवडा र डा प्रदीप ढकालले लेख्नुभएको पुस्तक मकालु ग्रुप अफ कम्पनी प्रालिले प्रकाशन गरेको हो । 

पुस्तक विमोचन समारोहमा सचिव मैनालीले विश्वका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ र यस वरपरका तीर्थस्थलका बारेमा समेटेर पुस्तक प्रकाशन भएकाले यसको अध्ययनबाट सबै लाभान्वित हुने बताउनुभयो । पशुपति क्षेत्रप्रति भारतलगायत विश्वभर रहेका हिन्दू धर्मावलम्बीको चासो भएकाले यस्ता कृतिले अध्ययन अनुसन्धानका लागि सहयोग गर्ने उहाँको भनाइ छ ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, धर्म, संस्कृतिका क्षेत्रमा काम गर्नेका लागि पुस्तक उपयोगी रहेको सचिव मैनालीले बताउनुभयो । पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले शैव धर्मसँग सम्बन्धित विभिन्न विषय पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो । आगामी दिनमा धर्म, संस्कृतिका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि पुस्तक उपयोगी हुने उहाँको भनाइ थियो ।

पुस्तकका लेखक प्राडा खतिवडाले यसअघि लेखिएका नेपाली संस्कृति विश्वकोश र बौद्ध विश्वकोशपछि पाशुपत विश्वकोश लेख्ने प्रेरणा मिलेको जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा प्रदीप ढकालको अग्रसरतामा पुस्तक तयार पारिएको उहाँले बताउनुभयो । 

हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले पशुपति क्षेत्र र शैव धर्मसँग सम्बन्धित विषयमा तस्बिरसहित आएको पाशुपत विश्वकोश धर्म, संस्कृति क्षेत्रका अनुसन्धाताका लागि उपयोगी हुने भनाइ राख्नुभयो ।

तपाईको प्रतिक्रिया