को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?

  ९ घण्टा अगाडि

नेकपा एमालेको विधानअनुसार आगामी महाधिवेशन २०८३ मंसिरमा हुनेछ । आसन्न महाधिवेशनको मुख्य आकर्षण र चासो भनेकै अध्यक्ष पद हो । किनभने केपी शर्मा ओली निरन्तरताको कसरतमा छन् भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय रुपमा आकांक्षी भएको परिचय दिन थालेकी छन् । अन्य सम्भावित आकांक्षीहरूको मौनता टुटिसकेको छैन ।

एमालेको महाधिवेशन आउनु कहाँ छ, कहाँ छ ? तर यसका संभावित दाबेदारको रुपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेर्न थालिएको छ । त्यसका पछाडि तीन कारणलाई पूर्व संकेतको रुपमा लिन सकिन्छ । पहिलो, पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेकी छन् । उनले कार्यकर्ताको मागलाई आफ्नो भविष्यको निर्णायक मोड हुने बताएकी छन् । दोश्रो कारण हो, नेपालका वामपन्थी शक्तिहरुलाई चाहिएको ओलीको विस्थापन र अभिभावकीय छहारी र तेश्रो भनेको उत्तरी कम्युनिष्ट पार्टीले पत्याउन थालेको अवस्था ।

पार्टी महाधिवेशन आउन पर्याप्त समय बाँकी छँदै भण्डारीले योजना र रुपरेखाका साथ आन्तरिक गृहकार्य गर्न थालेको सुनिन्छ भने  अन्तर्राष्ट्रिय र घरेलु भावभंगीमाले पनि अध्यक्षमा रहेको ओलीको फोटोलाई भण्डारीको अनुहारले स्थानान्तरण गर्ने संभावना छ, एउटा बलियो संभावनाका रुपमा चीनको मन्त्रणालाई लिन सकिन्छ ।

चिनियाँ नेताले पनि पूर्व राष्ट्रपति भण्डारीलाई एक राजमहिषीजस्तो सम्मान दिएर नेपालको राजनीतिक स्थिरताकी संवाहक, वाम एकताकी सूत्रधार नै हुन् कि जस्तो गरी मन्त्रणा गरेका छन् ।

साझाखबरः विचार / विश्लेषण

चीनको सदाशयता, भण्डारीको हौसला

मे अन्तिम साता चीन भ्रमणमा आएका बेला पूर्वराष्ट्रपति भण्डारीलाई चीनले औपचारिक कार्यक्रममा सम्बोधन गर्न दियो जसलाई विश्लेषकहरूले प्रभावशाली एमाले नेताको हैसियत पाएको भनेर अर्थ्याए । सिपिसी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद सम्मेलनको मञ्चलाई उनले राम्रोसँग उपयोग गरेको देखिन्छ । एमालेका भावी अध्यक्षका रुपमा मानिएका शंकर पोखरेलको भनाइ सुन्ने हो भने भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा चीनको भ्रमण गरेको बुझिन्छ । तर भण्डारीले सीपीसीलाई एमालेको तर्फबाट कृतज्ञता जनाउने, स्वर्गीय पतिको योगदानको व्याख्या गर्ने, नेकपा एमालेको शीर्ष नेताका रूपमा सीपीसी विदेश विभाग प्रमुख लिउ च्यानछाओसँग भेटवार्ता गर्ने, केपी ओली निकट मानिने चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीको उपस्थितिविना भेटवार्ता गर्ने गरेबाट भण्डारीले पूर्व राष्ट्रपतिको छवि एक पार्टी नेताको रुपमा उतारेको प्रष्टै छ ।

चिनियाँ नेताले पनि पूर्व राष्ट्रपति भण्डारीलाई एक राजमहिषीजस्तो सम्मान दिएर नेपालको राजनीतिक स्थिरताकी संवाहक, वाम एकताकी सूत्रधार नै हुन् कि जस्तो गरी मन्त्रणा गरेका छन् । एमाले र सीपीसीबीच वैचारिक, व्यावहारिक र रणनैतिक सम्बन्ध रहेको बताएर भण्डारीले चीनलाई खुशी तुल्याएकी छन् र बदलामा चिनियाँ पार्टी पंक्तिबाट आफ्ना पति र आफूबाट वामपन्थका लागि ठूलो योगदान गरेको सन्देश छाडिन् ।

अर्को कुरा, केपी ओली शक्तिमा हुँदा सिपीसीले अपेक्षा गरेको थियो कि बीआरआईदेखि चिनियाँ संलग्नताका आयोजनामा ठोस प्रगति हुनेछ । तर नेपाली काङ्ग्रेसको आडमा कुर्सी सम्हाल्न पाएका केपी ओलीको ध्यान चिनियाँ लगानीमाथि भइरहेको बदनामी, बीआरआईदेखि चिनियाँ परियोजनाका बारेमा सिन्को भाँचिएन । चीनले पनि आफ्नो बिजनेस पार्टनरको रुपमा ओलीलाई छोडेर भण्डारीलाई हेरेको हुनसक्छ ।

एमाले पंक्तिको चाहना

कतै बोल्ने मौका पायो कि कार्यकर्ताको चाहनाबमोजिम आफू अध्यक्ष बन्ने चाहना समाप्त नभएको भन्दै पूर्व राष्ट्रपति भण्डारीले एमाले पार्टीभित्र तरङ्ग छोड्ने गरेकी छन् । अब त पार्टी पंक्तिले गर्ने सानातिना  कार्यक्रममा समेत सक्रिय सहभागिता जनाउँदै आफ्नो पक्षमा माहोल खिच्न व्यग्र देखिन्छन् भण्डारी।

केपी शर्माओलीपछि एमाले पार्टीमा रहेका नेताहरूको पनि अध्यक्ष बन्ने चाहना छ । तर ओलीको चाहनाका अगाडि उनीहरूले केही गर्न सक्दैनन् । अतः फेरि पनि ओलीकै नेतृत्वमा रहनुभन्दा विद्या भण्डारी (६३ वर्षीया) को नेतृत्वमा सहज हुने उनीहरूले ठानेका छन् । कता कता आफूले नपाउने भएपछि ओलीले नै दोहोर्याएर नपाउन् भन्ने भावना ओली समूहकै आकांक्षी नेताहरूबाट देखिन थालेको छ ।

हालै केपी शर्माओलीको राजनीतिक मैदान कोशी प्रदेशको झापामा विद्या भण्डारीप्रति कार्यकर्ताको सत्कारले ओलीलाई बिर्साइदियो । राजनीतिक थलो ओलीको भएपनि स्वागत चाहिँ विद्याको सोचेभन्दा उग्र थियो।   पार्टी अध्यक्ष ओलीसँग रुष्ट नेताहरू, पुराना तथा नयाँ नेता कार्यकर्ता, एमाले झापाका पदाधिकारीहरू, महिलाहरू धेरै देखिएबाट उनलाई अप्रत्यक्ष रुपमा अध्यक्षको अनुहारमा स्वीकारिसकेको जस्तो लाग्छ ।

सामान्यतया कार्यकारी पदमा रहेको व्यक्तिले देशका विभिन्न कार्यक्रममा निम्तो पाउँछ । तर अहिले पार्टी विभागले आयोजना गर्ने कार्यक्रममा ओलीको स्थानमा विद्या देखापरेकी छन् । अर्थात् ओलीजत्तिकै सद्भाव पूर्व राष्ट्रपति भण्डारीप्रति देखिन थालेको छ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा

ओली भर्सेस भण्डारी

अनेकौं पटक पार्टी पद खाँदै ७ वर्ष राष्ट्रपतिजस्तो सर्वोच्च पदबाट ओर्लिएर विद्यादेवी भण्डारी अब पार्टी अध्यक्षको पद ताकेर दौडधुप गर्नेछन् । पार्टी सदस्यता नवीकरण गर्दै भनिसकेकी छन्, पार्टी अध्यक्ष बन्ने सम्भावना समाप्त भएको छैन।’

आफ्ना श्रीमान मदन भण्डारीको ख्यातिको फाइदा उठाउँदै उनले राजनीति ‘ब्याज’ पनि उठाइसकेकी छन् । यद्यपि एमाले वा कुनै ठूलो पार्टीमा महिला अध्यक्ष नभएको इतिहास तोड्न उनका लागि यो सुवर्ण अवसर भने पक्कै हो । राष्ट्रपति छँदा अन्तर्राष्ट्रिय सम्बन्ध, चिनियाँ सीपीसीसँगको निकटता र फोर्ब्सको विश्वका १०० शक्तिशाली महिलामध्ये ५२औँ स्थानमा परेर अन्तर्राष्ट्रिय पहिचान पनि बनाएकी छन् ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा उपाध्यक्ष बनेकाले भण्डारीलाई पनि पार्टी राजनीतिमा जाँदा आकाश खस्दैन भन्ने आत्मविश्वास जगाएको छ । त्यसमाथि छिन्नभिन्न रहेर एकअर्कामा लडिरहने नेपालका असंख्य वामपन्थी पार्टीहरु सर्वमान्य अभिभावको खोजीमा छन् । सामान्ययता चुनाव र सत्ता गठनताका ‘वाम वाम एक ठाम्’ को कुरा उठेपनि अरूबेला सायदै उठ्छ तर पनि नेपालका वामपन्थी दलहरूको लक्ष्य, विचारधारा र गन्तव्य त एउटै हो । राष्ट्रपतिको कुर्सी खाली हुनै लाग्दा  र तत्पश्चात पनि उनले माओवादी अध्यक्ष प्रचण्ड, (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल लगायत शीर्ष वाम नेताहरूको अभिलाषा ग्रहण गरेकी छन् । अर्थात् राजनीतिमा फर्किन सुझाव पाएपछि वाम एकता गर्दै अझै एक इँटा थप्ने रहर पलाएको हुनुपर्छ । पहिला पहिला नेकपा एमाले बाहेकका पार्टीको यस्तो सोच थियो, अहिले ओलीको महत्वाकांक्षाबाट आजित भएका एमालेभित्रकै एउटा समूह यस्तै यस्तै सोच्न थालेको छ ।  

विगतमा विद्या भण्डारी र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच गहिरो सम्बन्ध र सहकार्य थियो । तर अहिले भण्डारीले केपी ओलीकै विरुद्ध गुट बनाउने बाटो बन्दै गएको छ ।

केपी ओली विरुद्ध गुट बनाउनुका पछाडि एउटा बाध्यकारी अवस्था देखापरेको छ, त्यो के भने मन लागुञ्जेल पार्टी अध्यक्ष बनिरहने लालसा ।

विधान महाधिवेशनले पार्टीको कार्यकारी पदमा ७० बर्ष पूरा नभएसम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदै उमेर हद पूरा भएका कारण जिम्मेवारीबाट हट्न नपर्ने बनाइदियो, यसबाट ओली निरन्तर अध्यक्ष रहन पाए । अब उनको चाहना एउटै व्यक्ति कुनै एउटा पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने विधानलाई संशोधन गर्नुछ र मार्गप्रशस्त गर्नुछ । एघारौं महाधिवेशनसम्ममा करीब ७४ वर्ष पुग्ने ओलीलाई विधानलाई संशोधन गर्न उत्रो भारी पनि हैन, बहुमत छँदैछ ।

पार्टीको आन्तरिक द्वन्द कम गर्न कि त ओली स्वयं अध्यक्ष बन्नुपर्नेछ या त तेश्रो व्यक्तिलाई अध्यक्ष बनाउन बाध्य हुनुपर्नेछ । पार्टीमा ३ जना नेता छन्, जो लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छन् र पार्टीका लागि योगदान गरेर शीर्ष तहमा पुग्ने ल्याकत राख्छन् । वरिष्ठ उपाध्यक्ष – ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल । उनीहरू तीनै जना ओली गुटका भए पनि चटक्क कुर्सी छोडिदिन गाह्रो कुरा हो भने तीनमध्ये कुनै एकलाई रोज्न पनि मुश्किल छ । यद्यपि कुनै बार्गेनिङमा पुगेर ओलीले आफ्नो स्पेस सुरक्षित गर्ने चतुर्याइँमा भने दुई मत रहेन ।

फाइल फोटोः चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणताका

वाम एकता र ओलीप्रति अन्य वाम घटक  

वाम एकताको पुरानो नारा रट्दै आएका नेपालका वाम पार्टीहरू छिन्नभिन्न रहँदै आएकाले बेला बेलामा एकताको कुरा उठ्ने गर्छ । कुनै घडीमा वामहरू मिलेजस्तो भएपनि कुनै मोडमा सत्तोसराप गरेर छुट्टिहाल्छन्, अहिलेसम्मको अभ्यासले त्यही दृष्टान्त पेश गर्छ ।

तत्कालीन नेकपाबाट अलग हुने क्रममा प्रचण्ड र माधव नेपालले मन मिल्ने सदस्यहरू लिएर निस्किए । त्यसक्रममा प्रचण्डका दाहिने हात मानिने कतिपय नेताहरू एमालेमै रहे भने माधव नेपालले नयाँ पार्टी बनाए । कालान्तरमा माधव समूहमा अवसर नपाएका कारण केही नेताहरू पुनः एमालेमै फर्किए । फर्किने नेताहरूलाई स्वागत गर्दा ओलीले भनेका थिए, ‘माधव नेपाल बाहेक सबै पार्टीलाई नेकपा एमालेमा स्वागत छ।’ आफ्नो सानो पार्टीलाई पुनः एमालेमै फर्काउन सकियोस्, त्यो सम्मानजनक फिर्तीका लागि माधव नेपाल पनि चाहन्छन् कि ओलीको पतन भएर अर्को नेतृत्व आओस्।

केपी शर्मा ओली राष्ट्रवादी नेता भएपनि अहंकारी र प्रतिशोधको भावनाले ग्रस्त नेता हुन् । उनले विद्या भण्डारीको नेतृत्व स्वीकारेर आफूलाई हटाउनुपर्छ भन्ने विरोधी सबैलाई सिध्याउने डर हुन्छ । त्यसैले उनी छउन्जेल उनको नेतृत्वमा रहेका नेताहरू चाहेर पनि बोल्न सकिरहेका छैनन् । उनले सानो होस् वा ठूलो, शक्तिशाली होओस् कि कमजोर, जसलाई भेट्टाए पनि समाप्त पारिदिन्छन् । पूर्व गृहमन्त्री समेत रहेका भीम रावल पार्टीबाट निकालिएका छन् । पार्टी कार्यालयका लागि व्यापारीको दान लिँदा स्वार्थ बाझिने कुरा गर्दा केन्द्रिय सदस्य विन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई पनि पार्टीबाट निष्कासन गरेका थिए।

विद्या भण्डारीको नेतृत्व स्वीकार्यसूचक माहोल बन्दै जानु केपी ओलीको महत्वाकांक्षामाथिको प्रहार हो । त्यसैले उनले आफ्नो वा अर्काको पार्टी, जो सुकैको भएपनि शक्तिले भ्याउन्जेलसम्म सिध्याउने नै नीति लिएका छन् । माधव नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउनुपर्ने र ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहने एमालेका अध्यक्ष ओलीको महत्वाकांक्षाले निरन्तरता पाएको टिप्पणी गर्दै आएका थिए । परिणामस्वरुप उनलाई भ्रष्टाचारको मुद्धा लगाएर राजनीतिक जीवन नै समाप्त पार्ने रणनीतिमा लागेका छन् ओली। प्रकारान्तरले त्यो अर्कै निकायको काम भएपनि त्यहाँ उनका ‘यस म्यान’ भएकाले यो प्रत्यक्ष नदेखिएको हो । संभवतः उनको नेतृत्वमा यस्तै खतरा निम्त्याउने अन्य पार्टीका नेताहरू जो कोहीलाई उनले अदृष्य तरीकाले सिध्याउने संभावना हुन्छ ।

तपाईको प्रतिक्रिया