काठमाडौँ, २३ जेठ : नेपालमा आगामी साउन २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’का लागि तयारी अघि बढाइएको छ ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोगमा उक्त सम्मेलन हुन लागेको हो ।
समितिको आज बसेको बैठकले हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी रहने सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ ।
बैठकले सम्मेलनको तयारीका लागि मूल आयोजक र प्राविधिक समिति बनाउने तय भएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिनुभयो । सम्मेलन अघि जलवायुबाट प्रभावित नेपालका केही भूभागमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरिने उहाँले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा इसिमोडअन्तर्गतका आठ क्षेत्रीय सदस्य राष्ट्रहरू अफगानिस्तान, चीन, नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान तथा म्यानमारबाट सम्बन्धित सांसद तथा विज्ञहरूलगायत करिब एक सय जना सहभागी हुने जनाइएको छ ।
सम्मेलन आगामी दिनमा इसिमोडअन्तर्गत मुलुकहरूमा दुईदुई वर्षमा गर्ने बताइएको छ । सम्मेलनमा जलवायु विपद् र प्रदूषण, पर्वतीय क्षेत्र र जीवनशैली विषयमा छलफल हुने तथा यस क्षेत्रका मुलुकमा भएका जलवायु अनुकूलनसम्बन्धी राम्रा सिकाइ आदानप्रदान गर्ने प्रस्ताव गरिएको समितिले जनाएको छ ।
समिति सभापति थापाले यस क्षेत्रका जलवायुका मुद्दामा सामूहिक सहकार्य बढाउने तथा अन्तरराष्ट्रिय मञ्चमा साझा धारणा सशक्त बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । इसिमोड हिन्दकुश हिमालयका मानिसहरूको पक्षमा कार्यरत ज्ञान तथा सिकाइका लागि एक अन्तसरकारी केन्द्र हो ।
यसको मुख्यालय काठमाडौँमा अवस्थित छ । इसिमोड हिन्दकुश हिमालयका स्थानीयको जीवन तथा जीविकोपार्जनमा सुधार ल्याउन र पर्वतीय वातावरण तथा संस्कृतिको जगेर्ना गर्न कार्यरत निकाय हो ।
पूर्वमा म्यान्मारबाट पश्चिमको अफगानिस्तानसम्म फैलिएको तीन हजार ५०० किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँ यो क्षेत्रका १० प्रमुख नदीको पानीको स्रोत हो । यही पानीको स्रोतमा करिब दुई अर्ब जनता निर्भर छन् ।