काठमाडौँ, २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै कानुनी उपचारका लागि छिट्टै प्रक्रिया सुरू गर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले न्यायका लागि कानुनी उपचारमा जान कानूनविद्सँग परामर्श भइरेको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आफ्नो पार्टीलाई कमजोर बनाउने उद्देश्यले आएको निर्णयप्रति नेता तथा कार्यकर्ता आत्तिन नपर्ने प्रष्ट पार्नुभयो ।