पर्यटक पथ प्रदर्शकका समस्या सरकारले समाधान गर्ने

  जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथप्रदर्शकका समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ ।

टुरिष्ट गाइड एशोसियशन नेपाल (टुर्गान)ले आज यहाँ आयोजना गरेको ‘नवौँ राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’को शुभारम्भ गर्दै उहाँले पर्यटक पथप्रदर्शकका समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै लगिने बताउनुभएको हो । “पर्यटक पथप्रदर्शकका तत्काल गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने विषयलाई नीति, कानुनबाट समाधान गर्दै लगिनेछ,” मन्त्री पाण्डेले भन्नुभयो ।

उहाँले पर्यटक पथप्रदर्शक नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताउनुभयो । पर्यटक पथप्रदर्शकले पर्यटकलाई मात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको उहाँको भनाइ थियो ।

“पर्यटकलाई पथ प्रदर्शन गर्ने कुरा हाम्रो कर्तव्यभित्र पर्छ, यो कर्तव्यमा यहाँहरुले तदारुकताका साथ काम गर्नुहुनेछ, म यो मन्त्रालयको मन्त्रीको रुपमा के वचन दिलाउन चाहन्छु भने तपाईँहरुका जतिपनि मुद्दा छन् सरकारले समाधान गर्छ,” उहाँले भन्नुभयो ।

उहाँले काठमाडौँ केन्द्रित पर्यटक पथप्रदर्शकलाई सातै प्रदेशमा विस्तार गर्न एशोसियशन लाग्नुपर्नेमा जोड दिनुभयो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथ प्रदर्शकलाई कारबाही गरिनुपर्ने बताउनुभयो । अध्यक्ष देवकोटाले नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शकले गरिरहेको बताउनुभयो । हाल देशभर पाँच हजारभन्दा बढीले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया