कास्की, २१ जेठ : देशको पर्यटकीय राजधानी पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ देखि ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगिता नेपाल भलिबल सङ्घ र राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्वीकृतिमा हुन लागेको हो । प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिम सहभागी हुनेछन् । जसमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश टिम र न्यू डायमण्ड युथ स्पोट्र्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता ‘लिग तथा नकआउट’ चरणमा सञ्चालन गरिनेछ ।
प्रतियोगिताको च्याम्पियन टोलीले रू छ लाख, उपविजेताले रू तीन लाख र तेस्रो हुने टिमले रू एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रू २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रू १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । एकेडेमीका अध्यक्ष कोइरालाले भलिबललाई लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगितामार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
“पोखरा खेलकुदको सहर त्यसमा पनि भलिबल लोकप्रिय छ । भलिबल खेल विकास गर्ने लक्ष्य राखेका छौँ । भविष्यमा यो प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउँदै लैजाने योजना छ”, कोइरालाले भन्नुभयो ।
अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइरालाले महासङ्घले वर्षभरी नै बृहत् खेलकुद महोत्सवका रूपमा विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलका रूपमा घोषणा गरेको थियो । भलिबल खेलको विकास र विस्तारका लागि पोखरामा पहिलोपटक प्रचण्ड कप भलिबल गर्न लागिएको हो ।