जातीय विभेद अझै कायम रहेका भन्दै सांसदद्वारा चिन्ता व्यक्त

  जेठ २२, २०८२

काठमाडौँ, २१ जेठ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा विभेद अझै कायम रहेका भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

बैठकको शून्य समयमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि पूर्णरूपमा भेदभावरहित समाज बन्न नसकेको भन्दै यस्तो विभेद अन्त्यका लागि सबै पक्ष र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

सांसद गोमादेवी तिमिल्सिनाले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि समाजमा अझै यो कुप्रथा कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसदहरू भुवनबहादुर सुनार, राजेन्द्रलक्ष्मी गैरे र मदनकुमारी शाह (गरिमा) ले पनि विभिन्न जातजाति, भाषा, धर्म, सम्प्रदायमा रहेका सबै किसिमका भेदभाव अन्त्य गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

सांसद कृष्णप्रसाद पौडेलले अध्ययनका लागि विदेशिने विद्यार्थीसँगै ठूलो रकम बाहिरिरहेको बताउनुभयो । नेपालभित्र गुणस्तरीय र रोजगारीमूलक शिक्षाको प्रत्याभूति गर्नसके ठूलो रकम बाहिरिनबाट रोकिने उहाँको भनाइ छ ।

सांसद नरबहादुर विष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पनि नाम जोडिन आएकाले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले अहिले भिजिट भिसा प्रकरणका विषयमा सरोकार भएका निकायले आवश्यक अनुसन्धान गर्ने भएकाले प्रतिपक्षले संसद्मा अवरोध सृजना गर्न नहुने धारणा राख्नुभयो । अहिले शिक्षक, कर्मचारी, यातायात व्यवसायीलगायत विभिन्न क्षेत्र आन्दोलनमा रहेका बेला प्रतिपक्षले सरकारलाई अनावश्यक दबाब दिन नहुने उहाँको भनाइ छ ।

सांसद युवराज शर्माले संविधान जारी भएको दुई वर्षभित्र बनिसक्नुपर्ने ऐनहरू हालसम्म पनि नबन्नु संविधानको प्रभावकारी कार्यान्वयन नभएको बताउनुभयो । ऐन कानुन निर्माणमा ढिलाइ हुँदा सङ्घीयताको सबलीकरण र प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

सांसद सोनाम गेल्जेन शेर्पाले सार्वजनिक निकायहरूको बेरुजु बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले बेरुजु कसरी घटाउने भनेर पहलकदमी लिन सरकारसँग माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया