जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ

  जेठ २२, २०८२

काठमाडौँ, २१ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताउनुभएको छ ।

आज साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायुका कारण प्राकृतिक विपद्का घटना बेहोर्नु परेको बताउनुभयो । यसको क्षतिपूर्तिका लागि विश्वव्यापी पहल आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

सभापति देउवाले विश्वव्यापी तापमान वृद्धिका कारण नेपालका हिमाल पग्लिने क्रम बढेको, अस्वभाविक मौसमले जनजीवनमा ठूलो प्रभाव परेको बताउँदै यस सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले आफूले संयुक्त अधिराज्यको ग्लास्गोमा सन् २०२१ मा भएको कोप–२६ सम्मेलनमा नेपालका तर्फबाट सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै अब नेपालले विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपालमा नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोग बढाएर कोइलाजस्ता जीवाष्म ऊर्जाको प्रयोग बन्द गर्न सबैको पहल आवश्यक रहेकामा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया