गण्डकी, २० जेठ : गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्ड, क्होलासोथार गाउँपालिका, मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लम्जुङको सिङ्दी हुँदै दूधपोखरी, लम्जुङ एवं मनाङको सिमाना गुरुङ देउराली, हर्पिङडाँडालगायत स्थानलाई पदमार्गका रूपमा समेट्ने गरी खोज तथा अन्वेषण गरिने भएको छ ।
गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि आगामी असार १ गतेसम्म उक्त क्षेत्रमा प्रवर्द्धनात्मक खोज तथा अनुसन्धानात्मक पदयात्रा गर्न लागिएको हो ।
सङ्घका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङका अनुसार पोखराबाट लम्जुङको सिड्दी हुँदै पसगाउँ-भुजुङ-घनपोखरा-राप्रुजु-क्युपारा-थुर्जु-दूधपोखरी तथा गुरुङ देउरालीको ब्रोखर्का-सिउरुङ-हर्पिङडाँडा हुँदै पुनःपोखरासम्मको खोज तथा अनुसन्धानात्मक पदयात्रा गर्न लागिएको हो ।
पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित आसपासका पर्यटकीय गन्तव्यको संरक्षण, प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेका बेला जिटिनले पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्पका रूपमा गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धन र विकास गर्न लागेको उहाँको भनाइ छ ।
सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिनेक्रम बढिरहेकाले सङ्घको संयोजन एवं पर्यटन बोर्डको प्रवर्द्धन तथा कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा यसअघि स्थलगत अध्ययन अनुसन्धानपछि गुरुङ सम्पदा पदमार्गको औपचारिक घोषणा गरिसकिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिनुभयो ।
प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रूपमा रहेको यो पदमार्गमा यहाँको ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई असर नपर्ने, प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानि नपुग्ने गरी प्रवर्द्धन गर्नेतर्फ सङ्घ लागिरहेको जिटिन गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुभयो । सङ्घले चरणबद्ध खोज तथा अनुसन्धानसँगै प्रवर्द्धनात्मक कार्यक्रम गरेर सन् २०२६ देखि पूर्ण रूपमा गुरुङ सम्पदा पदमार्ग सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
यसै पदमार्ग भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू अहिलेका बस्तीहरूमा फैलिएका संस्थापक अध्यक्ष गुरुङको भनाइ छ । उहाँका अनुसार गुरुङ समुदायको प्ये ल्हु ताँ मा मात्रै नभई यस क्षेत्रस्थित क्होलासोथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ ।
क्होलासोथरको पुरातात्विक महत्त्वका भग्नावशेषको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।
“यस पदमार्ग क्षेत्रलाई समेटिने गन्तव्यमा अहिले पनि भोटको नुन बोक्दाका कथा सुन्न पाइन्छ । पदमार्गमा भेटिने बिसौनी तथा चौतारीहरू नुनको व्यापारिक मार्गको जीवन्त साक्षी बनेका छन्”, उहाँले भन्नुभयो ।
खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी मार्ग आवश्यकता अनुसार सञ्चालनमा ल्याउन सकिने भन्दै सहायक पदमार्गहरू पहिचान गरिसकिएको संस्थापक अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यी पदमार्गमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने अध्ययनले देखाएको छ ।
यसपटक गर्न लागिएको सिङ्दीबाट दूधपोखरी हुँदै हर्पिङडाँडासम्मको अध्ययन अनुसन्धानबाट यहाँका सम्भावना र आवश्यकतालाई थप उजागर गर्ने उहाँले बताउनुभयो । भौगोलिक अवस्थितिका दृष्टिले यो पदमार्गको पदयात्राको उच्च बिन्दु चार हजार ९१० मिटर उचाइको गुरुङ देउराली (नामुन भञ्ज्याङ) सम्म रहेको छ ।
प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरू रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्र«े, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिने यहाँको विशिष्टता हो ।
“प्रकृतिसँगै संस्कृतिलाई पनि जोड्ने यस पदमार्गको प्रवेश गर्ने स्थानबाट पदयात्रा समाप्त गर्ने स्थानसम्म गुरुङ गाउँ पर्दछन् । ती गाउँहरूमा घरबास सञ्चालन गरिएका छन् भने घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा रहेका छन् । साथै गुरुङ समुदायको गाउँ, बसोबास तथा रहनसहन पनि यहाँका पर्यटकीय आकर्षण हुन्”, संस्थापक अध्यक्ष गुरुङले भन्नुभयो ।
प्राचीन नुन व्यापारको मार्ग, क्होलासोथरको ऐतिहासिकतासँगै तत्कालीन समयमा धर्मशाला र बिसौनीका भग्नावशेषले यहाँको प्राचीन गरिमा र महत्त्वलाई उजागर गरेका उहाँको भनाइ छ ।
पदमार्गमा परम्परागत भेँडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई पनि प्रत्यक्ष देख्न र अनुुभव लिन सकिन्छ । यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि पनि महत्त्वपूर्ण मानिन्छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधीजन्य वनस्पति, जीवजन्तु र चराचुरुङ्गीले पनि यहाँको महत्त्व बढाएका छन् ।
पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँचऔँले, वन लसुनजस्ता प्रजातिका जडीबुटी पाइन्छन् भने ठाउँठाउँमा हावापानी अनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू अवलोकन गर्दै हिँड्न सकिन्छ । डाँफे, मुनाललगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्त्वलाई बढाएको संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।
सिङ्दीबाट गर्नलागिएको खोज तथा अन्वेषणत्मक पदयात्राले यहाँका सम्भावनासँगै अत्यावश्यकीय पूर्वाधार विकासलाई उजागर गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायी, पथप्रदर्शक, सञ्चारकर्मीसहित पदयात्रा मजदुर गरी ५५ देखि ६० जनाको सहभागिता रहने उहाँले जानकारी दिनुुभयो ।
सङ्घको आयोजनामा यसअघि यसै पदमार्गअन्तर्गत सुरुमा ताङतिङबाट तिमाङसम्मको अन्वेषणात्मक पदयात्रा गरिएको थियो भने त्यसपछि सिक्लेसबाट कफुचे, कोरी, क्होलासोथर, कर्पुडाँडा हुँदै याङ्जाकोटसम्म प्रवर्द्धनात्मक पदयात्रा गरिएको थियो ।