क्यानबेरा,१९ जेठ : अष्ट्रेलियामा सन् २०२५ को सुरुवाती पाँच महिनामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको छ ।
सरकारी विवरणअनुसार, बाढी, डढेलो, आँधी र चक्रवातले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब २ अर्ब २० करोड अष्ट्रेलियाली डलर (करिब एक अर्ब ४० करोड अमेरिकी डलर) बराबरको असर पारेको छ ।
पूर्वी तटीय राज्यहरू न्यू साउथ वेल्स र क्विन्सल्यान्डमा धेरै ठूलो बाढी आएको थियो। मार्च महिनामा आएको चक्रवात ‘अल्फ्रेड’ पछिल्ला ५० वर्षमा पहिलो पटक दक्षिणपूर्वी क्विन्सल्यान्डमा पुगेको थियो ।
देशका अन्य भागहरूमा पनि कडा हावाहुरी, चक्रवात र डढेलोका घटनाहरू भएका थिए ।
कोषालयले जनाएअनुसार, क्विन्सल्यान्डमा फेब्रुअरी महिनामा खुद्रा व्यापार ०.३ प्रतिशतले र मार्च महिनामा ०.४ प्रतिशतले घटेको थियो ।
अष्ट्रेलियाली तथ्याङ्क कार्यालयका अनुसार, नयाँ वर्षको पहिलो तीन महिनामा देशभर मानिसहरूले गर्ने खर्च खासै परिवर्तन भएको थिएन, तर क्विन्सल्यान्डमा भने ०.२ प्रतिशतले घटेको थियो ।
सरकारले महँगी, बेरोजगारी र राष्ट्रिय ऋण घटाउने प्रयासमा भएको सफलताका कारण अहिले विपद्बाट पीडित समुदायलाई सहयोग गर्न सक्षम रहेकाे जनाएको छ ।
सरकारले पीडित जनताको पीडा सबैभन्दा ठूलो कुरा भएको जनाउँदै आर्थिक असर पनि महत्वपूर्ण रहेको उल्लेख गरेको छ । (रासस/सिन्ह्वा)