कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

  जेठ १९, २०८२

पाटन (ललितपुर), १८ जेठ : नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा गरिएका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भमा कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आज यहाँ आयोजित संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले यस्तो घोषणा गर्नुभएको हो । दिवसका दिन यही जुन ५ तारिखदेखि लागू हुने गरी पार्टी र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरिएको हो ।

“विश्व वातावरण दिवसका दिनदेखि लागू हुने गरी पार्टी मातहतका सबै तहका कार्यालयका साथै भ्रातृ एवम् शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरेको छु” सभापति देउवाले घोषणासभामा भन्नुभयो ।

उहाँले वातावरणमा पारेको नकारात्मक असरप्रति गरिएको घोषणा कार्यान्वयनमा पार्टीका सबै तहको सकारात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । “सन् २०२४ सबैभन्दा तातो वर्षका रूपमा पुष्टि हुन आएको छ, ढिलो नगरी जलवायु परिवर्तनका असरलाई कम गर्नुपर्ने छ । नेपालले जलवायु न्यायको लागि अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउँदै आइरहेको छ, स्रोतसाधनको सीमितताका बीच हामीले जलवायु परिवर्तनको असर कम गर्न काम गर्दै आइरहेका छौँ । संयुक्त राष्ट्रसङ्घमा नेपालले जलवायु परिवर्तनबारे आवाज उठाउँदै आएको छ”, सभापति देउवाले भन्नुभयो ।

उहाँले विकास निर्माणका क्रममा वातावरणीय पक्षको क्षति हुँदै गइरहेको भन्दै यसमा सचेत रहन ध्यानाकर्षण गराउनुभयो । हामीलाई विकास मात्रै होइन दिगो विकास चाहिएको छ भन्नुहुँदै सभापति देउवाले जलवायु परिवर्तनले अर्थतन्त्रको आधार स्तम्भमा नकारात्मक असर पारेकामा चिन्ता व्यक्त गर्नुभयो । वातावरणमा परेका नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पदार्थको सट्टा विद्युतीय सवारी प्रयोगलाई ध्यान दिनुपर्ने र विद्यालय र विश्वविद्यालयमा जलवायुमैत्री शिक्षा दिइनुपर्नेमा सभापति देउवाले जोड दिनुभयो ।

जलवायु सङ्कट र विश्वको सन्दर्भ विषयमा प्रस्तुतिकरण गर्दै जलवायु परिवर्तनविज्ञ मञ्जित ढकालले मानिसले खाने हरेक कुरामा प्लास्टिक समावेश भएको भन्दै प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । जलवायु तथा प्लास्टिक प्रदूषण र राजनीतिक दलको भूमिका विषयमा प्रस्तुतिकरण गर्नुहुँदै वातावरण विज्ञ डा विजय थापाले दीर्घकालीन समस्या समाधानका लागि पार्टीको स्पष्ट नीति र धारणा तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया