राजाको प्रत्यक्ष शासनकाल छँदा लोकतन्त्रका लागि भएको आन्दोलनमा शीर्ष नेताहरूमाथि लाठी प्रहार गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रकारान्तरले आफैँ त्यस्को शिकार भएका छन् ।
राजधानीमा राजा फर्काउने आन्दोलन चलिरहेका बेला उनलाई प्रहरीले भ्यानमा कोच्न खोज्दा डङ्ग्रङ्गै पच्छारिएका हुन् । सामाजिक सञ्जालमा यो तस्बिरमा टिप्पणी गर्दै सर्वसाधारणले लेखेका छन्, ‘आखिर समय बलवान हुने रहेछ ।’
काठमाडौंको नक्सालबाट पक्राउ परेका कमल थापालाई प्रहरीले पक्राउ गरेको थियो । राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था समर्थक विभिन्न समूहले जेठ १५ देखि राजसंस्था पुनस्थापनालगायत माग राखी प्रदर्शन गर्दै आएका छन् । त्यसक्रममा उनी पक्राउ परेका थिए । प्रहरीले भ्यानमा हाल्न खोज्दा जबर्जस्ती उम्किने प्रयास गर्दाका तस्बिरहरू यतिखेर सामाजिक संजालमा भइरहेका छन् ।
‘पालो सबैको आउँछ कमल थापाज्यू, यो फोटो देखेर मलाई झलझली जनआन्दोलनको याद आइरहेछ’, एक एक्स प्रयोगकर्ताले लेखेका छन् । कतिपयले नेपाली काङ्ग्रेसका तत्कालीन सभापति स्व. गिरिजप्रसाद कोइरालाको टाउकोमाथि लाठी प्रहार भएको तस्बिर उधिनेका छन् । जनआन्दोलनताका गृहमन्त्री रहेका थापाको दमनबाट आजित भएका भुक्तभोगीहरू अहिले पनि त्यो पीडा सम्झिँदै थापामाथि भएको यो ज्यादतीमा दुःखी हुनुभन्दा रमाइरहेको देखिन्छ ।
आइतबार कमल थापा नेतृत्वको राजसंस्था पक्षधरको आन्दोलन नारायणचौरबाट जुलुस सहित बालुवाटार जान खोजिरहेको थियो, जहाँ सरकारले हालै निषेधित क्षेत्र घोषणा गरेको हो ।