मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनःजागृत गर्न आह्वान

  जेठ १८, २०८२

लुम्बिनी, १७ जेठः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनःजागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौँ वार्षिक साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै उहाँले समाज सेवाको भावना हराउँदै जाँदा मानवीय सेवासमेत कमजोर बन्ने जोखिम रहेको उल्लेख गर्नुभयो ।

“समाज सेवाको भावना कता–कता हराउँदै गइरहेको छ, आदर–सम्मानको भावना कता–कता हराउँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “हामीले यसलाई जबसम्म पुनःस्थापित गर्न सक्दैनौँ, तबसम्म हामीमा रहने नैतिकता, आचरण र सद्भावका कुरा करिब–करिब मेटिँदै जान थालेका छन् ।”

मुख्यमन्त्री आचार्यले रेडक्रस अभियानलाई अझ व्यापक बनाउँदै समाज सेवाको भावना पुनःस्थापित गर्न जोड दिनुभयो । साथै विद्यालय–केन्द्रित कार्यक्रम सञ्चालन गरेर अभियानलाई जनस्तरसम्म पु¥याउन उहाँले आह्वान गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेशलाई सबै खाले विपद्बाट सुरक्षित बनाउने गरी सरकारले विपद्प्रति कार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङ, सवारी दुर्घटनालगायत विपद्बाट प्रदेशलाई सुरक्षित बनाउने रणनीतिअन्तर्गत सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको उहाँको भनाइ थियो । “विपद्अघि, विपद्को बेलामा र विपद्पछि रेडक्रसको साथ रहने भएकाले यसको भूमिका अझ महत्वपूर्ण छ”, मुख्यमन्त्री आचार्यले स्मरण गराउनुभयो ।

तपाईको प्रतिक्रिया