मौसम : भारी वर्षाको सम्भावना । कोशी राजमार्ग बाढीले बगायो, माइखोलाले डुबायो घरबार

  जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।

बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिनुभयो । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिनुभयो ।

सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ । चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको छ ।

माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ ।

“माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो”, अध्यक्ष चाम्लागाईले भन्नुभयो, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।”

यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ ।

तपाईको प्रतिक्रिया