भारतीय पत्रकारमाथि निर्ममतापूर्वक कुटपिट गरिएको घटनाको छानबिन गर्न माग

  जेठ १७, २०८२

नयाँदिल्ली, १६ जेठ : भ्रष्टाचारको रिपोर्टिङ गर्ने क्रममा एक पत्रकारलाई बाँधेर, कुटपिट गरेको र गाउँभरि घुमाइएको निर्मम आक्रमणको अनुसन्धान गर्न भारतको मानव अधिकार निकायले प्रहरीसमक्ष माग गरेको छ ।

गत मे २५ मा पूर्वी राज्य उडिसामा एक आवास योजनाको रिपोर्टिङ गर्न गएका पत्रकार विजय प्रधानलाई कुटपिट गरिएको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

“उहाँमाथि अचानक आक्रमण भएको बताइएको छ तर पीडितको खुट्टा र हात बाँधिएको थियो र उनलाई पोलमा बाँधेर निर्दयतापूर्वक कुटपिट गर्नुअघि गाउँभरि घुमाइएको थियो,” राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार भनेको छ ।

आयोगले उडिसाको प्रहरीलाई दुई हप्ताभित्र प्रतिवेदन उपलब्ध गराउन माग गरेको छ ।

“पीडितको मोबाइल फोन र भिडियो क्यामेरासमेत आक्रमणकारीले तोडफोड गरेका छन् र घटनाबारे केही पनि जानकारी नगराउने चेतावनी दिइएको छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पत्रकारमाथि हातपात गरेको आशङ्कामा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा सञ्चालित विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत १५१ औँ स्थानमा छ ।

गत जनवरीमा छिमेकी राज्य छत्तीसगढमा भएको भ्रष्टाचारबारे व्यापक रिपोर्टिङ गर्ने एक पत्रकारको शव कङ्क्रिटले ढाकेको ‘सेप्टिक ट्याङ्क’मा लुकाइएको अवस्थामा फेला परेपछि भारतीय सञ्चार माध्यमले गहन अनुसन्धानको माग गरेका थिए । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया