भालुको आक्रमणबाट दार्जुलामा दुई जना घाइते

  जेठ १७, २०८२

खलङ्गा, १६ जेठ : दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन् ।

आज बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार कलावती र मानमती सासू बुहारी हुन् । नजिकैको स्थानीय वन बरमुडेलेकबाट आएको भालुले घरभित्र पसेर एक्कासी उनीहरुमाथी आक्रमण गरेको हो ।

भालुको आक्रमणमा परी घाइते कलावतीको ढाड र मुखमा चोट लागेको छ । भालुको आक्रमणबाट बच्न भाग्दा लडेर मानमतीसमेत घाइते भएका छिन् । घाइते दुवै जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । भालुलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटना स्थलमा पुगेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया