साहित्यकार सिटौलाको जीवनमा आधारित ‘व्यष्टि र समष्टि’ पुस्तक विमोचित

  जेठ १४, २०८२

काठमाडौँ, १३ जेठ : वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।

काठमाडौँमा सोमबार पुस्तक विमोचन गर्दैै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानबारे स्मरण गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले सिटौलाका बारेमा अझ ठूलो बृहत् पुस्तक निकाल्ने तयारी भइरहेको भन्दै यो पुस्तक उक्त बृहत् पुस्तकलाई पूर्णरूप दिन महत्वपूर्ण खुराक हुने बताउनुभयो ।

पुस्तक समीक्षा गर्दै प्रा डा देवी नेपालले पाँच खण्डमा विभाजित पुस्तकमा ५० नेपालीमा, चार अङ्ग्रेजीमा र चार शुभकामनासहित गरी ५८ लेखकका लेख रहेको भन्दै हरेक व्यष्टि (अंश) मिलेर समष्टि (पूर्ण) भएको बताउनुभयो ।

अर्का समीक्षक प्रा डा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्टभूमि केलाउनुभएको थियो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं पूर्वक्याम्पस प्रमुखसमेत रहनुभएका सिटौलाका ११ पुस्तक प्रकाशित भइसकेका छन् । उहाँ ८२ वर्षको उमेरमा थप सक्रिय रहेर साहित्यका लागि निरन्तर लागि रहनुभएको त्यस अवसरमा जानकारी दिइयो ।

अमेरिकामा रहनुभएका सिटौलाले भर्चुअलमाध्यमबाट सम्बोधन गर्नुभएको थियो । पुस्तकको सम्पादन शारदाका प्रकाशक–सम्पादक विमल भौकाजीले गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया