विराटनगर, १३ जेठः कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, २०८२’ मा छलफल सुरु भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते पेस गर्नुभएको सिद्धान्तमा आर्थिक आधारको सबलीकरण र आर्थिक वृद्धि, दिगो विकास, सङ्घीयता कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह तथा सुशासन, सार्वजनिक वित्त एवं वित्तीय अनुशासन, सामाजिक विकास, न्याय, मानव अधिकार, ग्रामीण विकासलाई महत्वका साथ समावेश गरिएको छ ।
यसैगरी, जनमुखी सेवा प्रवाह र सुशासन, कानुनी शासन, शान्तिसुरक्षा, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण, खानेपानी , सिँचाइ तथा ऊर्जा, पर्यटन क्षेत्रको विकास, शिक्षा, खेलकुद, संस्कृति, रोजगारी र समावेशिता, स्वास्थ्य सेवा, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, यातायात क्षेत्रको व्यवस्थापन, वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सहकारीको अनुगमन र नियमन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
छलफलमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, गणेशप्रसाद उप्रेती, कमला दर्नाल, चिलचन पाठक, रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल र डोल्मा तामाङले भाग लिनुभएको थियो । त्यसअघि शून्य समय शून्य समयमा गीतादेवी रेग्मी, हिमाल कार्की, गोविन्द गिरी र विनोद राईले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको थियो ।