सिद्धराज राई
नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । प्राकृतिक सुन्दरताले नै नेपाल संसारको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । नेपालका हिमाल, पर्वतीय सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक, वातावरणीयलगायतको विविधता रहेको छ । नयाँ ठाउँ हेर्ने, नयाँ कार्य गर्ने, नयाँ विषय खोज्ने तथा बुझ्ने साथै मनको आनन्द लिने कार्य नै पर्यटनको मूल मर्म हो ।
भौगोलिक विविधता नेपालको विशिष्ट पहिचान हो । नेपाल पर्यटकीय दृष्टिले र पर्यटकीय क्रियाकलापहरूको सम्भावनालाई बढोत्तरी गर्नमा भौगोलिक विविधताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस विविधताले नै पर्यटनका विविध क्षेत्रहरूमध्ये साहसिक पर्यटनअन्तर्गत पर्ने पर्वतारोहण सम्भव भएको हो र यसका लागि नेपाल संसारकै आकर्षक गतव्यमा पर्दछ । नेपालमा पर्वतारोहणले समग्र पर्यटन क्षेत्रको महत्त्वपूर्ण र आकर्षक स्थान ओगटेको छ ।
नेपाल सरकारले सर्वोच्च शिखर सगरमाथालगायत आठ हजार मिटर माथिका आठवटै हिमालहरू समेत गरेर चार सयभन्दा बढी हिमालमा आरोहण खुला गरेको छ । शताब्दीऔँ पहिलेबाट नेपालमा पर्वतारोहणका कार्य आरम्भ भएको पाइन्छ । सन् १९२१ मा सगरमाथा हिमाल आरोहणको पहिलो प्रयास भएको र उक्त अवधिमा सगरमाथा चढ्ने बाटो पत्ता लागेको अध्ययनबाट देखिन्छ । बेलायत सरकारले लेफ्टिनेन्ट कर्णेल सिके होवार्ड बुरेको नेतृत्वमा जर्ज मेलोरी तथा अन्य पर्वतारोही र सर्भेयरहरू समावेश गरी पहिलोपटक सगरमाथाको आरोहण गर्ने टोली बनाएको थियो ।
उक्त टोलीले सन् १९२१ को वसन्त ऋतुमा तिब्बतबाट सगरमाथा आधार शिविर जाने बाटो पत्ता लगायो र सगरमाथाको तिब्बती मोहोडातिरबाट लगभग सात हजार मिटरको उचाइसम्म पुगेर फर्किएको इतिहास रहेको छ । यो ठाउँलाई हाल नर्थ कोल भनिन्छ । सन् १९५० मा भएको अन्नपूर्ण हिमालको सफल आरोहण नै आठ हजार मिटरमाथिका हिमालमा मानव पाइला पुगेको पहिलो इतिहास हो । सन् १९५३ मे २९ मा न्यूजील्याण्डका नागरिक, एडमण्ड हिलारी र नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल हुनुभयो । यसपछि नेपालमा पर्वतारोहणले विश्वको ध्यान आकर्षित गर्यो भन्दा अत्युक्ति नहोला । योसँगै नेपालको महाभारत र चुरे पर्वत शृङ्खलामा बनेका ताल, झर्ना, सहासिक खेल र प्राकृतिक सुन्दरताले नेपालको पर्यटनले थप उचाइमा लगेको छ ।
विश्वकै सर्वोच्व शिखर सगरमाथासँगै सुन्दर हिमशृङ्खला हुनुले नेपाललाई ‘पर्वतीय गन्तव्य’का रूपमा चिनाएको छ । पर्वतीय शृङ्खलाहरू हाम्रो शान र पहिचान हुन् । यी शृङ्खलामा फस्टाउने पर्यटन उद्योगले आर्थिक सुधारका लागि छिटोभन्दा छिटो नतिजा दिन सक्छ । पर्यटनको विकास हुन सक्यो भने हामीले छिटै आर्थिक समृद्धि हासिल गर्न सक्छौँ । नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउन पर्यटन क्षेत्र एक दरिलो आधार बन्न सक्छ । पर्यटकहरूको आगमन बढेपछि हाम्रो आर्थिक उपार्जनको स्रोतहरू अथाह बढेर जानेछन् भन्ने हाम्रो विश्वास हो । पर्यटकलाई घुमाएर होस् वा खान बस्न दिएर, आफ्नो कला संस्कृति प्रस्तुत गरेर होस् वा कुनै उत्पादन बेचेर, मनग्यै आयआर्जन लिन सकिने सम्भावना रहन्छ । हिमाललाई ब्रान्डिङ गर्ने र भौतिक पूर्वाधारहरू निर्माण गर्ने कार्य अहिलेको आवश्यकता हो । विदेशी मिडियाले पनि नेपालको हिमालमा भएका गतिविधिलाई मुख्य समाचार बनाएको पाउँछौँ ।
हिमाली पर्यटन अबको नयाँ विकल्प हुने छ । यसलाई नेपालले उपयोग गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । पछिल्लो समयमा नेपालमा पदयात्री पर्यटकको सङ्ख्या बढेको छ । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, कर्णाली, पूर्वमा कञ्चनजङ्गा र काठमाडौँ उपत्यका आसपासका पर्वतीय क्षेत्रमा समेत पदयात्रीको आकर्षण बढ्दै गएको देखिन्छ । पर्वतीय पर्यटनलाई थप समृद्ध बनाउन पदयात्रा पर्यटनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सके मात्रै आर्थिक रुपमा अपेक्षित सफलता हासिल गर्न सक्छौँ । पदयात्रा पर्यटनले स्थानीय सम्पदालाई असर नपुग्ने गरी स्वच्छ मनोरञ्जन एवं फरक अनुभूति बटुल्ने पर्यटकका गतिविधिलाई सम्मान गर्दछ । नेपालमा पर्वतीय क्षेत्रको पर्यटन प्राकृतिक तथा सांस्कृतिक सम्पदामा आधारित छ । यसलाई भरपुर उपभोग गर्न नसकेको यथार्थ हाम्रासामु रहेको छ । हिमाल र पर्वतहरू प्रकृतिका अमूल्य सम्पदा हुन् । यस क्षेत्रलाई जैविक विविधताको मुख्य क्षेत्र भनेर पनि चिनिन्छ ।
पछिल्ला दिनमा हिमाल र पर्वतहरूले जलवायु परिवर्तनको ठूलो प्रभावको सामना गरिरहेका छन् । जलवायु परिवर्तनका प्रभावहरू तीव्ररूपमा बढ्दा नेपालको हिमाली क्षेत्रमा सबैभन्दा धेरै प्रतिकूल वातावरणीय प्रभाव परेको छ । हिमनदीहरू पग्लिँदै जानु, हिमालमा हिउँ हराउँदै जानु र अनियमित मौसमको सामना गर्नुपर्ने चुनौतीहरू हिमाली क्षेत्रमा खडा भएका छन् । कृषि, जलस्रोत, जैविक विविधतासँगै हिमाल र नजिकका क्षेत्रका समुदायको जीविकोपार्जनमा गम्भीर जोखिम देखिएको छ । हिमालमा जलवायु परिवर्तनको प्रभावले तल्लो र तटीय क्षेत्रमा दूरगामी प्रभाव पार्न सक्छ । यी विषयले अझै पनि विश्वमञ्चमा उचित प्रतिनिधित्व र बहस पाउन सकेको छैन ।
जलवायु परिवर्तनको विषयमा छलफल र अध्ययन पुगेकै छैन । पर्याप्त अध्ययन गर्न लगानी जरूरी पर्छ । जलवायु परिवर्तनका विषयमा निरन्तर संवाद गर्नुपर्छ । यसै सन्दर्भमा नेपाल सरकारले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गरेको सगरमाथा संवादले केही हदसम्म अन्तरराष्ट्रिय मञ्चमा नेपालको हिमाल र जलवायु परिवर्तनको प्रभावको विषयमा उजागर गर्ने प्रयास गरेको छ भन्ने हाम्रो बुझाइ हो । तर राजनीतिक परिवर्तनसँगै जलवायु परिवर्तनका विषयलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको पाइन्छ । यसले नेपालको मुद्दालाई अन्तरराष्ट्रिय फोरममा बहसमा लैजान समस्या हुने गरेको छ । आर्थिक सहयोग आउँदा सिजनल रुपमा मात्र कुरा उठाउनेभन्दा पनि निरन्तर अभियान चलाउनु पर्छ । अनुसन्धानबाट आएका तथ्यका आधारमा कसरी काम भइरहेको छ भनेर समीक्षा गर्नु पर्छ । प्रकृतिलाई बिगारेर होइन, सिङ्गारे र विकास गर्नुपर्छ । बोल्नेहरूले त आफैँ कुरा उठाउँछन् । तर नबोल्ने प्रकृतिका विषयमा पनि बोल्नुपर्छ । यो विषय आजको मुख्य दायित्व हो भन्ने लाग्दछ । यही विषयलाई मनन् गरेर राससले पर्वतीय पर्यटनका विषयमा तस्बिर प्रदर्शनी गरेको हो ।
यस वर्षको गणतन्त्र दिवसलाई अवसर पारेर नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्याउने र नेपाल सरकारको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गरेको छ । यो तस्बिर प्रदर्शनीले राससका फोटो पत्रकारले खिचेका, सम्प्रेषण भएका तस्बिरहरू खोज्ने र अर्काइभिङ गर्ने, राससमा छापिएका तस्बिर संरक्षण गरेर भावी पुस्तालाई अमूल्य सम्पत्ति हस्तान्तरण गर्ने, नेपालमा पर्वतीय पर्यटनको अवस्था र सम्भावनाको विषयमा जानकारी दिने र नेपालका हिमालहरूको विषयमा जानकारी दिने कार्य गर्छ भन्ने हामीलाई लागेको छ । नेपालका आठ हजार मिटर अग्ला र त्यसभन्दा होचा तर चर्चामा रहेका हिमालहरू, हिमाली क्षेत्रको जनजीवन, पर्वतीय शृङ्खलामा पुगेका विदेशी उच्च पदस्थ व्यक्तिहरू, पर्वतीय शृङ्खला, पहाडी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य, ताल, पोखरीलगायतका विषयमा खिचिएका तस्बिरलाई प्रदर्शनीमा राखेको छ । राससका समाचारदाताहरूले खिचेका र राससको बुलेटिनमा प्रकाशित भएका करिब एक सयवटा तस्बिरबाट नेपालको पर्वतीय पर्यटनलाई चिनाउने प्रयास गरेका छौंँ । प्रदर्शनीमा राखिएका तस्बिरहरू नेपालको हिमाल र पर्वतीय क्षेत्रमा विकास भइरहेको पर्यटनलाई चिनाउने प्रयास मात्र हो ।
(लेखक राससका महाप्रबन्धक हुनुहुन्छ)