अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी

  ५ घण्टा अगाडि

काठमाडौँ, ११ जेठ : जलवायु परिवर्तनबाट मानव सभ्यतामा देखापरेको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय समाचार समिति (रासस)ले आइतबारदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर तस्बिर प्रदर्शनी सुरु गर्न लागिएको हो ।

गणतन्त्र दिवस–२०८२ को विशेष अवसर पारेर प्रदर्शनीको आयोजना गरिएको हो ।

भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा हुने प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलाका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका कुल १०० तस्बिर समेटिएका छन् । प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार संयुक्त रूपमा शुभारम्भ गर्ने कार्यक्रम तय भएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यर्होर्नुपरेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले हालै सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमालसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

ग्राहकहरूको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग गर्ने विश्वास महाप्रबन्धक सिद्धराज राईले व्यक्त गर्नुभयो । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी प्रदर्शनी गरेको थियो ।

जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न प्रदर्शनीबाट योगदान पुग्नेमा रासस विश्वस्त छ । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खलाको प्रवर्द्धनबाट वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासले अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमशिखरमध्ये आठवटा नेपालमा छन् ।

प्रदर्शनीमा राखिएका तस्बिरले हिमाल, हिमाली क्षेत्रको विविधता, हिमाली सौन्दर्यका साथसाथै पर्यटकीयस्थलका बारेमा जानकारी दिनेछन् । मानव जीवन र वातावरण सन्तुलनका लागि पनि हिमालको विशेष महत्व रहेको छ । मुलुकमा आठ हजार मिटरमाथिका सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमशृङ्खला छन् । सात हजार मिटरमाथिका ९० र छ हजार मिटरमाथिका एक हजार ३१० गरी एक हजार ७९२ हिमाल रहेका छन् ।

तपाईको प्रतिक्रिया