काठमाडौँ, ९ जेठ : राजनीतिक परिवर्तनमा सहकार्य गरेका प्रमुख राजनीतिक दलका नेताहरूले मुलुकलाई समृद्धितर्फ लैजान एकताबद्ध प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ ।
सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक समस्या र समाधान’ विषयक अन्तरक्रियामा उहाँहरूले अस्थिरताको दुष्चक्रबाट मुलुकलाई माथि उकास्न राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड दिनुभयो ।
राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनअपेक्षा पूरा गर्नेतर्फ दलहरू गम्भीर हुनुपर्ने उल्लेख गर्दै उहाँहरूले संविधान संशोधनमार्फत राजनीतिक स्थिरता र सुशासनको माध्यमबाट जनअपेक्षा सम्बोधन गरिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धिको यात्रा तय गर्न नसकेको उल्लेख गर्दै राष्ट्रिय सहमतिका साथ निश्चित समयसम्म स्थिर सरकार बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । “अहिलेको गतिरोधबाट अगाडि जान राष्ट्रिय सहमति चाहिन्छ । दुई तिहाइको सरकार बनेपनि मुलभूत काम गर्न सकेको छैनौँ, स्थिरता दिन सकिएको छैन । सबै दलका नेता एक ठाउँमा बसेर राष्ट्रिय सहमति कायम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेता साउदले विभिन्न नाममा व्यवस्थाका विरूद्धमा सडकमा आउने क्रम देखिएको जनाउँदै संविधान निर्माताले सबैलाई संविधानको दायराभित्र ल्याउने प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । ठूलो मेहिनतका साथ संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीति र अर्थतन्त्र एकअर्कामा अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै आधारभूत विषय सम्बोधन गर्न दृढ सङ्कल्प आवश्यक भएको बताउनुभयो । “वर्तमानको आधारभूत समस्याका बारेमा प्रवेश नगरेसम्म समस्याको समाधान हुँदैन”, उहाँले भन्नुभयो, “राजनीति र अर्थतन्त्रको संरचनात्मक समस्या पहिल्याएर हल गर्नुपर्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले मुलुकमा देखिएको राष्ट्रिय समस्या समाधान गर्न गणतन्त्रको सुदृढीकरण र संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो । “शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा गणतन्त्रको सुदृढीकरण गर्न संविधान संशोधन आवश्यक छ, राष्ट्रियताको रक्षका लागि आर्थिक सुदृढ, कूटनीति तथा सन्तुलित परराष्ट्र नीति र सुरक्षा नीतिको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
उपमहासचिव शर्माले संविधानको रक्षा गरी सर्वसुलभ सेवा दिने गरी प्रभावकारी कानुन निर्माण गर्ने, सङ्घीयता, गणतन्त्रलाई थप सुदृढीकरण, समावेशी, निर्वाचन प्रणालीका लागि संविधान संशोधन, न्यायलयको पुनर्संरचनामा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जनताले सुशासन र समृद्धिको चाहना राखेर राजनीतिक परिवर्तन गरेको भए पनि परिवर्तन पछाडि जनअपेक्षा सम्बोधन गर्न दलहरू चुकेको बताउनुभयो ।
वर्तमान राजनीतिक नेतृत्वले जनतालाई कुशासनको उपहार दिइरहने हो भने मुलुक गहिरा सङ्कटमा फस्ने उल्लेख गर्दै उहाँले दलका शीर्ष नेताले आफ्नो कार्यशैलीलाई सुधार्नुपर्ने बताउनुभयो । “गणतन्त्रले आफ्नो नेता पाएन, रोजगारी सिर्जना र सुशासन कायम राख्ने सामथ्र्य नेताहरूमा देखिएन”, उहाँले भन्नुभयो । (रासस)