काठमाडौँ, ९ जेठ : प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत सहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता यही जेठ १२ गते हुने भएको छ । सहिद स्मृति स्पोट्र्स एकेडेमीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापन र प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको उक्त प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।
प्रतियोगितामा कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाल आर्मी र नेपाल एपिएफ क्लब गरी सात टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ । प्रतियोगिता विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडीलाई रु सात हजार नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै खेलाडीहरूको रु एक लाख २५ हजार बराबरको खेल दुर्घटना बिमा गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब रु १९ लाख खर्च हुने बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।