नेपालमा छायाङ्कन भएको चिनियाँ चलचित्र : ‘पर्ख ! हावा चल्छ ।’

  ७ घण्टा अगाडि

सन् २०१३ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ तारिख चीनमा एउटा चलचित्र सार्वजनिक भयो जसको छायाङ्कन नेपालमा गरिएको थियो । चिनियाँमा तङ फङ लाई (等风来) लाई सिधा उल्था गर्ने हो भने ‘पर्ख, हावा चल्छ’ भन्ने हो तर यसै चलचित्रलाई अङ्ग्रेजीमा ‘अप टु विन्ड’ अर्थात् ‘हावाभन्दा माथि’ भन्ने हुन्छ ।

यो चलचित्र चीन देशैभरि औपचारिक रुपमा देखाउन थालिएपछि नेपालप्रति चिनियाँहरूको एउटा दृष्टिकोण बनेको पाइन्छ । अर्थात् गरिब भए पनि नेपाल एउटा खुशीयालीयुक्त देश हो ।

त्यो चलचित्र मुख्य भूमिका युवा निर्देशक थङ्ग व्हा थाउ र थाइवानको चिन मा पुरस्कार पाएकी वरिष्ठ पटकथा लेखिका पाउ चिङ्ग चिङ्गले संयुक्त रुपमा बनाएका हुन् । चिनियाँ चलचित्र मञ्चमा रहेका दुईजना सक्रिय युवा अभिनेता चिङ्ग पो रान र युवा अभिनेत्री नी नीले मुख्य पुरुष र महिला पात्रको रुपमा भूमिका निर्वाह गरेका छन् ।

केही युवायुवतीको पर्यटन टोलीले सारा विश्वको सबैभन्दा सुखी मुलुक खोज्दै नेपाल भ्रमणमा “सुखमय यात्रा” को अन्वेषण गर्न थाल्छन् । तीमध्ये मीठा खानेकुरा सम्बन्धी विशेष लेखिका छङ्ग यु मङ्ग, धनी परिवारका छोरा वाङ्ग छान र भर्खरै विश्वविद्यालयबाट स्नातक भएकी युवती ली र स्युए रहेका छन् । यसबाहेक आ-आफ्नो परिवारमा बारम्बार झैझगडाले वाक्कदिक्क भएका गृहिणी र फोटोग्राफीलाई शौख बनाएका केही फोटोग्राफरहरू पनि पर्यटन टोलीमा छन् । पर्यटन टोलीका हरेकजसो सदस्यहरुका आ-आफ्नै  किसिमका समस्याहरु छन् । तथापि सामूहिक पर्यटनका लागि रमणीय मुलुक नेपालतर्फ जाने क्रममा उनीहरू जम्काभेट हुन्छन् ।  

पर्यटन टोलीले शुरुवातदेखि अनेकन् गोलमालहरुको सामना गर्नुपरेको छ। टोली बन्न पाएको छैन, फरक फरक मतका कारण छिन्नभिन्न हुन्छ । मध्यरातमा होटेलको विद्युत विच्छेद (लोडसेडिङ) हुन्छ, एकान्त अग्लो पहाडी क्षेत्रमा रहेको अतिथि भवनमा जनावरको भय छाउँछ, अनि एकपछि अर्को समस्या देखापर्दै जान्छन् । जति कठिनाई भएतापनि पर्यटन मण्डलका सदस्यहरूले एकले अर्काको ख्याल-विचार गर्नुका साथै आपसमा सक्दो सहयोग गरेको देखिन्छ । अनेकन् समस्यासँग साक्षात्कार हुने क्रममा प्रत्येक सदस्यले आफ्नो वास्तविक अनुहार छर्लङ्ग देखाउँछन् ।

नेपाल यात्रा सकिएर चीन फर्किनुअघि चलचित्रका मुख्य नायक वाङ्ग छानले टोलीका अन्य सदस्यलाई प्याराग्लाइडिङका लागि उक्साउँछन् । प्याराग्लाइडिङ बोकेर टुप्पोमा पुग्दा मनमा चिसो पस्छ, तर प्रशिक्षकले पारिपट्टीको वन देखाउँदै धैर्यताका साथ हावा चल्ने क्षण पर्खिन सुझाउँछन् । विस्तारै हावा पनि चल्छ र उनीहरु सफलताका साथ नीलो आकाशमा तैरिन थाल्छन् ।

नीलो आकाशमा उडिरहेको बेला हरेकका मनमा एउटा भावना पलाउँछ कि, जीवनको यात्राका क्रममा कुनै पनि सवालमा हतारिनु हुँदैन । हडबडमा गलत दिशामा जानुको सट्टा धैर्य गरेर चल्नेवाला हावाको प्रतीक्षा गर्नु राम्रो हुन्छ । आकाशमा विचरण गर्दै रहँदा ज्ञान आउँछ कि मानिसले जस्तो पर्छ, उस्तै टर्छ भनेझैँ सामान्य जीवनलाई निरन्तर गर्नुपर्छ । उतारचढाव आउँदै गर्छन्, जाँदै गर्छन् । कहिले रोचक घटना त, कहिले अविष्मरणीय क्षण बन्दै र भत्किँदै गर्छन् । यो चलचित्रको सार पनि त्यही हो कि भविष्य जस्तोसुकै होओस् तर प्रतीक्षा गर्नसक्नुपर्छ । कान नजीकैबाट सुसेली हालेर वहने वायुको प्रतीक्षा गर्नैपर्छ ।

तङ फङ लाई नामक चलचित्रमा धेरैजसो दृष्य नेपालका विभिन्न ठाउँमा खिचिएको हो । झण्डै पाँच खण्डको चार खण्ड दृश्य त नेपालकै सेरोफेरोले भरिएको पाइन्छ ।

सन् २०१३ मार्च ३ तारिख चलचित्रको छायाङ्कन चितवनमा औपचारिक रुपमा शुरु भएको थियो । चलचित्र छायाङ्कन टोलीले चितवन, पोखरा र राजधानी काठमाडौंमा श्रृंखलाबद्ध रमणीय दृश्यहरू खिचेको हो भने बाँकी दृष्य चीनको शाङ्हाईमा खिचेको थियो ।

तपाईको प्रतिक्रिया