त्यहाँबाट तुरुन्तै निस्किहालौँ

  ६ घण्टा अगाडि

चाणक्य नीति

“यस्मिन् देशे न सम्मानो न वृत्तिर्न च बान्धवाः।

न च विद्यागमोऽप्यस्ति वासस्तत्र न कारयेत्।”

सामान्यतया कुनै पनि मानिस स्वाभिमानी हुन्छ । स्वाभिमानका लागि मानिसले संघर्ष गरिरहेको हुन्छ । हरेक मानिसमा हुने यसै भावनाका कारण उसले स्वत्वका लागि संघर्ष गर्छ । शास्त्रले भन्छ, यदि मानिसले आफू रहेको, बसेको ठाउँमा स्वाभिमानपूर्वक जीवनयापन गर्ने वातावरण छैन भने त्यस्ता ठाउँबाट आफैँ अलग हुनुपर्छ ।

चाणक्य भन्छन्, यदि कुनै पनि देश वा भूगोलमा सम्मान छैन अर्थात् तपाइँ हुनुको कुनै महत्व छैन । तपाइँले पाएको जीवन, तपाइँले गरेको योगदानको मूल्यांकन छैन भने त्यो ठाउँ त्यागेर आफ्नो अनुकूल हुने स्थानको खोजी गर्नुपर्छ ।  

आफन्त, नाता सम्बन्ध भनेको मानव सभ्यताको अपरिहार्य कुरा हो । अहिलेको विश्वमा मानिसहरू सुखमय जीवनका लागि युरोप, अमेरिका भन्दै समृद्ध देशहरूमा भौतारिरहेका हुन्छन् । सबै कुरा हुन्छ, तर आफ्ना नाता गोता छैनन् भने त्यहाँको बसाइँ खल्लो लाग्न थाल्छ । स्वाभाविक रुपमा मानिस संवेगले भरिएको हुन्छ । सबै कुरा भइसकेपछि अरूलाई देखाउन पाएन, आफ्नो मेहनत र प्राप्तिको प्रदर्शन गर्न पाएन भने मजा ठान्दैन । त्यसैले धेरैजसो नेपालीहरू विदेशमा भएपनि विदेशीहरूसँगै जीवन बिताउन गाह्रो मान्छन् । कतिपयले नेपाली संस्कृति बिर्सने प्रयास गर्छन् तर आफन्तको जरा स्वदेशमै फिँजारिएको हुनाले अलिक गाह्रै लाग्छ ।

जहाँ विद्या आर्जन गर्ने श्रोत छैन, जहाँ जीवनयापन गर्ने माध्यम छैन, हो त्यस्ता मान्छेले यस्तो ठाउँमा बसिरहनुभनेको स्वाभिमानमाथि सम्झौता गर्नु हो, एउटा निरस जीवन बिताउन बाध्य हुनु हो । अतः चाणक्यले भनेका छन्, जहाँ सम्मान छैन, बाँच्ने आधार छैन, बन्धुबान्धव छैनन्, ज्ञान छैन, त्यस्तो ठाउँबाट हामी बसाइँ सर्नुपर्छ ।

तपाईको प्रतिक्रिया