काठमाडौँ, ७ जेठ : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । बुधबार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।
विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताउनुभयो । उहाँले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
मौसमविद् पोख्रेलले यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताउनुभयो । उहाँले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराउनुभयो ।
यस्तै, उहाँले यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मनसुन ऋतुको वर्षाको आकलन चाहीँ यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । यस्तै, यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । यो पनि ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि यस वर्ष पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।”
विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताउनुभयो । उहाँले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने बताउनुभयो । उहाँले यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकाले तयारी अवस्थामा बस्नुपर्ने जानकारी दिनुभयो ।
यस्तै, उहाँले मनसुन अगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने, १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनमा हुने हुनाले हामी यसका लागि तयारी भएर बस्नुपर्ने हुन्छ । यो बेलामा पहिरो जाने, बाढी आउने, धेरै जोखिम हुने, धनजनको क्षति हुने र धेरै विपद् आइपर्ने भएकोले यसको लागी तयार भएर बस्नुपर्ने हुन्छ । हामीले अगाडी नै एक्शन लियौँ भने ज्यान, धनको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।”
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र दुई सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ ।