चिनियाँ कवि चु सी र २ कालजयी कविता

  ५ घण्टा अगाडि

दक्षिणी सोङ राजवंशका महान विचारक एवम् प्रसिद्ध कवि चु सी 朱熹 (१५ सेप्टेम्बर ११३० – २३ अप्रिल  १२००) को जन्म अहिलेको फुच्यान प्रान्तको सानमिङ शहरमा भएको थियो ।

उनलाई दक्षिणी सोङ राजवंशको फुच्यान स्कूलका एक प्रसिद्ध नव-कन्फ्युसियनवादी, विचारक, दार्शनिक, शिक्षक, कवि र सबैभन्दा उत्कृष्ट गुरुको रूपमा चिनिन्थ्यो ।

चु सीका २ वटा नामी रचना 

१. 春日 【वसन्त ऋतुको एक दिन 】

म एक राम्रो दिन,

नदी किनारमा वसन्तको खोजीमा छु,

ओहो ! फराकिलो दृश्यले कति ताजा वातावरण ल्याउँछ !

म सजिलैसँग वासन्ती हावाको अनुहार भेट्छु;

राता र नीला रङ्गीन फूलहरूले सुन्दर वसन्त ऋतुलाई सजाउँछन्। 

आफ्नो कवितामा कवि चु सीले प्राकृतिक दृश्य र आफ्नो भावनालाई घोलेर प्रस्तुती दिएका छन्। उनको यो कविता पढ्दा कुनै रमणीय ठाउँमा घुमेजस्तै मनमा साह्रै आनन्द आउँछ । उनको यस कविताले शीतल हावा र स्वच्छ पानी जस्तै मान्छेको मनलाई पनि छोएको छ।

२. 水口行舟《पानी परेको रातमा डुङ्गा यात्रा》 

कविताको नेपाली भावार्थ

हिजो राति एउटा सानो डुङ्गा चढेर नदीमा हिँडेछु। 

हावा र पानी कस्तो चर्को र चिसो !

मेरो मनमा के कस्तो विचार छ भने बाह्य जगतको प्राकृतिक वातावरण कस्तो खराब रहेछ।

आज सबेरै बिउँझिने बित्तिकै डुङ्गाको द्वार खोलेर बाहिरतिर हेरिरहेको छु:

ओहो ! पहाड अझ हरियालीले भरिएको छ 

र पानी अझ स्वच्छ र शान्त देखिन्छ।

यो कवितामा कवि चु सीले मान्छेको जीवन डुङ्गा चढेर यात्रा गरिरहेजस्तै भनेर ब्याख्या गरेका छन् । जसरी डुङ्गामा सवार हुँदा छालहरू आउँछन्, डुङ्गा पल्टिएर ज्यान जाने जोखिम हुन्छ, त्यसैगरी जीवनयात्रामा प्रतिकूल प्राकृतिक विपत्ति देखापर्छ, कैयन् चुनौतीहरु आइलाग्छन् । तर पनि दृढ अठोट पालेर मात्रै गन्तव्यसम्म पुग्न सकिन्छ । आफ्नो पूर्व निर्धारित योजना पूरा गर्न अथक प्रयास चाहिन्छ र आफ्नो लक्ष्य साकार तुल्याउनुपर्छ भन्ने सन्देश चु सीको कविताले दिएको छ ।

तपाईको प्रतिक्रिया