धवलागिरिमा मौलिक ‘पुर्खौली’ नृत्य प्रतियोगिता

  ६ घण्टा अगाडि

म्याग्दी, ३ जेठ : जिल्लाको धवलागिरि गाउँपालिकामा रहेका मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले आज ‘पुर्खौँली’ नृत्य प्रतियोगिता भएको छ । धवलागिरि गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच वटा समूहका कलाकारले मौलिक पुर्खौँली र राधाकृष्ण नाच प्रस्तुत गरेका छन् ।

प्रतियोगितामा मुना पुर्खौँली समूह प्रथम, मुदी पुर्खौँली समूह द्वितीय र खिवाङ पुर्खौँली नृत्य समूह तृतीय भएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार काफलडाँडा पुर्खौँली समूह र ताकम धार्मिक नाट्य समूहलाई सान्तवना पुरस्कार प्रदान गरिएको छ ।

प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने समूहले क्रमश रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । गत माघमा बेनीमा भएको जिल्लास्तरीय पुर्खौँली नृत्य प्रतियोगितामा प्रथम भएको मुना पुर्खौँली नृत्य समूहलाई रु ३५ हजार नगद प्रदान गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष पुनमगर, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, वडा नं ३ का वडाध्यक्ष देवेन्द्र रोकाले पुरस्कार वितरण गर्नुभएको हो ।

मौलिक कलाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि प्रतियोगिताले सहयोग पुर्‍याएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार धवलागिरि गाउँपालिकाले पहिलो पटक पुर्खौली नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

गाउँपालिकामा बसोबास गर्ने मगर र छन्त्याल समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारगत कार्यमा पुर्खौली नाच देखाउने गरिन्छ । धार्मिक कथामा आधारित राधाकृष्ण नाच धवलागिरि–७ ताकममा बसोबास गर्ने ब्रह्माण समुदायको मौलिक संस्कृति हो । ताकममा दुई सय वर्षदेखि राधाकृष्ण नाच देखाउँदै आइएको भएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया