नेपालीहरूलाई आइपर्दा सहयोग गर्ने एउटा संस्थाको रुपमा २००७ देखि नै क्रियाशील छ ।

  ७ घण्टा अगाडि

अन्तर्वार्ता

२० वर्षअघि अध्ययनको सिलसिलामा चीन छिरेका निर्मल शर्मा चौलागाइँ चीनमा व्यापारिक गतिविधि र गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्ष समेत भएर जिम्मेवारीमा स‌‍क्रिय छन् । चीनमा दर्ता नभएको तर ८ कार्यकाल बिताइसकेको यो संस्थाले कसरी काम गरिरहेको छ, भविष्यको बाटो कसरी तय गर्दैछ भन्ने बारेमा बेइजिङबाट पत्रकार लक्ष्मी लम्सालले दक्षिण चीनको क्वाङ्तोङ प्रान्तमा रहेका चौलागाइँसँग कुराकानी गरेका छन् ।

तपाइँको चीनसँगको कनेक्सन के कस्तो हो? तपाइँ नेतृत्वको एनआरएनए भन्ने संस्थाले आसन्न सम्मेलनका लागि के तयारी गरिरहेको छ?

म सन् २००४ मा विद्यार्थीको रुपमा चीन प्रवेश गरेको थिएँ । इन्जिनियरिङको पढाइ गर्ने क्रममा यही व्यापारिक माहोल भएको क्वाङ्चौ सरहमा नै रहेँ । त्यही प्रभावले पार्टटाइम नेपाल सम्बन्धित काम गरें र व्यापारमै संलग्न भएर एउटा लजिस्टिक कम्पनी खोलेर नेपालमा आयात निर्यातको काममा सक्रिय छु।

सन् २००९ देखि एनआरएनए – एनसीसी चाइना, गैरआवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद चीनमा आवद्ध छु। सुरुमा एक्जुकेटिभ कमिटी मेम्बर, युवा संयोजक, महासचिव, उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालेको छु ।

अनि, एनआरएनएको सम्मेलन नजिकिँदै छ, जुलाईको अन्तिमसम्म सम्मेलन हुने योजना छ । यहाँ अहिलेको तयारी भनेको सक्दो पञ्जीकृत सदस्यको संख्या बढाउने, सक्दो चीनमा बसोबास गर्ने नेपालीहरूलाई सहभागी गराएर नयाँ कार्यसमितिमार्फत् २०२५-२०२७ कार्यभार हस्तान्तरण गर्ने योजनामा जुटिरहेका छौँ।

सामान्यतया चीनमा बस्ने नेपालीले ग्रीनकार्ड वा पीआर पाउँदैनन्, यस्तो अस्थायी रुपमा बस्ने नेपालीहरूले एनआरएनएको सदस्यता कसरी पाउने हो?  

नेपालको परराष्ट्रमा दर्ता भएर संसारभरि हाँगा फिजाएर ८५ देशमा एनआरएनएको एनसीसीहरू गठन भइसकेको छ । यसका आधारभूत नियम कानुनको पालना गर्नुपर्ने हुन्छ जुन चाहिँ आईसीसीको विधानमा लेखिएको हुन्छ । यसको विधान अनुसार २ वर्ष विदेशमा बसेको, सार्कबाहेकको अरू मुलुकमा बसेको नेपालीले सदस्यता पाउँछ । सरकारी कर्मचारीहरू जो मिसनमा रहेका हुन्छन्, र विद्यार्थी बाहेकले सदस्यता पाउने ‘क्राइटेरिया’लाई मानेर हामी अगाडि बढ्ने हो । तर चीनको हकमा चाहिँ अलिकति फरक छ । हरेक देशको भिसा ‘क्याटेगोरी’ फरक हुने रहेछ । त्यसैले के गरेका छौँ भने रिसर्च फेलोहरू जो चीनको हस्पिटलमा वा रिसर्चमा हुनुहुन्छ, त्यसलाई पनि चीनले कुनै ‘एक्स क्याटेगोरी’ मा राख्ने गरेको रहेछ । त्यो नहेरेर हामीले सबैलाई आवद्ध गर्ने किसिमले सदस्यता खोलेका छौँ अहिले । अरू व्यापारीहरू, रोजगारहरू जो हुनुहुन्छ २ वर्ष पुगेका, त्यो त सबैले पाई नै हाल्नुभयो।

एनआरएनए-एनसीसी (नेश्नल कोअर्डिनेसन काउन्सिल, चीन) र आईसीसी (इन्टरनेश्नल कोअर्डिनेसन काउन्सिल) भनेको के कस्तो हो? यिनीहरूका अभिभारा, जिम्मेवारी के के हुन्छन् ?  

आईसीसी (अन्तर्राष्ट्रिय समन्वय परिषद) यो चाहिँ हाम्रो केन्द्र जुन चाहिँ हरेक एनसीसीबाट डेलिगेट्स छानेर, भोट गरेर एउटा चाहिँ आइसीसीको कार्यसमिति बन्छ आइसीसीले सीधा नेपाल सरकारसँग सहकार्य गरेर नेपालमा विभिन्न कामहरू गर्छ । त्यसमा एनसीसी (नेश्नल कोअर्डिनेसन काउन्सिल) जुन जहाँ स्थापना भएको हुन्छ, एनसीसीको समन्वयमा आइसीसीले काम गर्ने हो । त्यो दोहोरो पनि हुन्छ, आइसीसीले पनि कतिपय ठाउँमा एनसीसीलाई सपोर्ट गरिरहेको हुन्छ । मलाई लाग्छ, एनसीसी एनआरएनए संस्थाको मेरुदण्ड हो ।

चीनमा एनआरएनएको अवस्था स्थिति के हो? के काम गर्छ? यो संस्थाबाट केही काम भएको छ?  

चीनमा सन् २००७ मा ‘एनआरएनए’ चीन स्थापना भएको हो । नेपालमा पनि विधिवत् दर्ता नभइरहेको अवस्थामा अलिकति ‘कन्फ्युजन’को स्थितिमा थियौँ । हामीले समावेश गर्नुपर्ने समुदायलाई सरकारले नमानिरहेको स्थिति थियो । त्यतिबेला एउटा युनिभर्सिटीमा, चीनमा त्यतिखेर विद्यार्थीको संख्या धेरै हुन्थ्यो जुन अहिले पनि छ । एक जना अग्रज शंकर ज्ञवालीको अध्यक्षतामा एउटा कमिटी गठन गरेका थियौँ । २००७ मा युनिभर्सिटीको एउटा कोठाबाट सुरू भएको संस्था हो । २००७ देखि अहिलेसम्म ८ वटा कार्यकाल पूरा गरेका छौँ । ८ जना अध्यक्षहरुले काम गरिसकेका छन् ।

मूलतः सामाजिक कार्य धेरै गरेका छौँ । चीन र नेपालबीचको व्यापार, चीनमा व्यापारीहरुले भोग्नुपरेका समस्या, विद्यार्थीहरूले भोग्नुपरेका समस्या, कोही नेपाली यहाँ आउँदाखेरी अलपत्र परेको अवस्था, मानव तस्करकै शिकार भएको अवस्थामा तत्काल प्रतिक्रिया जनाउने अनि उहाँहरूको उद्धार तथा सहयोग गर्ने, मान्छेको मृत्यु भएको अवस्थामा शव व्यवस्थापनका लागि सहयोग गर्नेजस्ता काममा निरन्तर लागिरहेका हुन्छौँ । अन्य ठूला देशको तुलनामा हामी एनसीसी संख्याको हिसाबले कम भएपनि नेपालमा आइपर्ने हरेक विपदमा हाम्रो चाहिँ सबैभन्दा ‘क्विक रेस्पोन्स’ हुन जान्छ । किनभने हामी नजीक पनि छौं, यहाँ श्रोतसाधन पनि भएकाले, नेपालमा महाभूकम्प होस् वा कोभिडै होस्, त्यो सबैमा केही दिनमै हामीले सामग्री वा सहायता पठाएका छौं।

एनआरएनएले चीनमा रहेर नेपालीका लागि गर्नसक्ने काम के छ जबकी चीन आफैँमा यत्रो विशाल भूगोल छ ?

कस्तो छ भन्दाखेरी चीन आफैँमा ठूलो देश भयो। नेपालीहरु छरिएर धेरै ठाउँमा हुनुहुन्छ । सबैलाई फिजिकल्ली बाँध्न पनि गाह्रो हुन्छ। अलिक बाक्लो उपस्थिति यही ठाउँमा छ । त्यसैले सन् २००७ देखि नै हेडक्वाटर यहीँ रहेको छ। हरेक नेपाली मुख्य चाडपर्वहरूमा नेपालीहरु, चिनियाँ परिवार र अरू विदेशी साथीहरुलाई पनि आमन्त्रण गरेर आफ्नो देशको संस्कृति कला झल्किने कार्यक्रमको प्रचार गरिराखेका हुन्छौँ । सबैमा सकिँदैन, तर मुख्य चाडपर्वमा गरिराखेका हुन्छौँ ।  

नेपालबाट कलाकार ल्याएर साँस्कृतिक कार्यक्रम पनि गर्ने गरेका हुन्छौँ। नयाँ नेपालीको संख्या ठूलो नभएकाले सँधै गर्न सकिरहेको छैन तर वर्षको एकचोटी चाहिँ गर्दछौँ। वर्षमा एकचोटी चाहिँ निरन्तरता दिइरहेका हुन्छौँ। अरू जस्तै तीज, फागु पूर्णिमा, दशैँ तिहार, संविधान दिवस, गणतन्त्र दिवस लगायतका मुख्य चाडपर्व र राष्ट्रले मान्यता दिएका दिवसहरू मनाइरहेका हुन्छौँ ।

सामान्यतयाचीनमा संस्थाहरू खोल्न बाहिरबाटआएकोहरूलाई गाह्रो छ । के आधारमा टेकेर तपाइँहरू एनआरएनए संचालन गरिरहनुभएको छ?

यहाँनेर चाहिँ मैले बाहिरको कुरा पनि जोड्नुपर्ने हुन्छ । यो हरेक देशको नीति, नियम, विधि इत्यादि हुन्छ, त्यो मानेर अगाडि बढ्नुपर्ने हुन्छ । अनि आईसीसीको एउटा विधानलाई आधारभूत र अकाट्य रुपमा पछ्याएर हामीले संस्था दर्ता गर्ने र संचालन गर्ने गरेका छौँ । त्यसरी नै अगाडि बढ्छौँ । कुनै देशमा फाइनान्सिल इन्स्टिच्युसन भन्ने हिसाबले दर्ता गरेर गरिन्छ, किनभने यस्तो किसिमको संस्था दर्तै हुन नदिने भएपछि त्यसलाई अलिकति घुमाएर दर्ता गर्नुभएको छ साथीहरूले । हाम्रो चाहिँ यहाँ अलिकति कस्तो भइदियो भने दर्ता गर्न धेरै प्रयास गरेका छौँ । महावाणिज्य दूतावास, राजदूतावाससँग धेरै पटक कुराकानी पनि भएको छ तर हामीसँग संख्या अलिकति कम भएकाले त्यसमा फाइनान्सियल कुरा पनि आउँछ । तर दर्ता गर्नै नसकिने, चलाउनै नसकिने भन्ने चाहिँ होइन । त्यसलाई यहाँको नियमअनुसार मोडेर दर्ता गर्न सकिन्छ, काम गर्ने त त्यही नै हो तर नियम अनुसार ढालेर काम गर्न सकिने अवस्था देखेका छौँ । त्यसका लागि प्रयास गरिरहेका छौँ । अहिले चाहिँ हामीले हाम्रो आफ्नै कार्यालय खोलेका छैनौँ । जो जो कार्यसमितिमा हुनुहुन्छ, उहाँहरूकै कार्यालयमा  गएर संचालन गर्दै आइरहेका छौँ ।

चीनमा मुख्यालय चाहिँ कता छ भन्ने यकिन भएन नि।

दक्षिण चीनको क्वाङ्तोङ प्रान्तको क्वाङ्चौ भन्ने व्यापारिक सहरमा एनआरएनएको मुख्यालय रहने भनेर हाम्रो विधानमा नै लेखेको छ । भविष्यमा परिवर्तन गर्नुपर्ने परिस्थिति आयो भने त्यसलाई त्यसरी नै गर्नुपर्ने हुन्छ ।  अहिले चाहिँ पदाधिकारीहरू जो जो हुनुहुन्छ अध्यक्ष,  उपाध्यक्ष र महासचिव । हो, उहाँहरू तीन जनाको कार्यालयमा जहाँ उपयुक्त हुन्छ, त्यहीँ लगेर कार्यालय संचालन गरिरहेका छौँ ।

भविष्यमा चीनमा रहेका नेपालीहरूलाई जोड्ने के के योजना छन् ? के गरेर सबै यहाँका नेपालीहरूलाई मतैक्यता सहित कुनै अभियानमा सामेल गर्न सकियोस् ?

नेपालीका लागि नेपाली भन्ने त यो संस्थाको नारा नै भैहाल्यो । नेपालीहरूलाई आइपर्दा सहयोग गर्ने एउटा संस्थाको रुपमा २००७ देखि नै क्रियाशील छ । कस्तो छ भने आफूलाई नपर्दासम्म यो संस्था पनि खासै किन चाहियो र भन्ने पनि हुँदोरहेछ । कतिपय साथीहरू अहिले आफैँ खोज्दै पनि आउनुभएको हुन्छ, टाढा टाढाबाट । कतिपय चाहिँ यहाँ नेपाली कम्युनिटी नै छैन, हामी ८/१० जना छौँ, यो संस्थामा लागेर के नै हुन्छ र ? भन्ने सोच पनि होला । हामीले यसरी हेरौँ, आफूलाई पर्दा संस्थाले गर्न सक्ने एक ठाउँमा भयो, अरूलाई सहयोग गर्न सक्दा पनि राम्रो कुरा हो, सामाजिक काम गर्दाखेरी ।

अर्को चाहिँ एकपटक पूर्व प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको बेला बेइजिङस्थित नेपाली दूतावासमा भएको कार्यक्रममा बोल्ने मौका पाएको थिएँ । सामूहिक लगानीमा नेपालमा टुरिज्म सेक्टरमा एउटा काम गर्ने योजना रहेको छ । त्यो भनेको सबै चीनमा बस्ने नेपालीहरुको सहभागिता रहने किसिमको हो । यसको वर्क आउट गर्दैछौँ तर मूर्त रुप लिइसकेको छैन । त्यसैले सार्वजनिक गरेका छैनौँ । त्यो लगायत नेपालमा अरू किसिमका प्रोजेक्टमा पनि गर्न सकिनेछ । – रन तुओ, ली लियाङ ता (अधिक मान्छे, अधिक शक्ति) भनेर चेयरम्यान माओले भनेजस्तै अहिले चाहिँ हामीले सदस्य, सहभागीको संख्या बढाउनुपर्ने आवश्यकता देखेका छौँ । संख्यात्मक रुपमा बलियो हुने बित्तिकै नयाँ आइडिया र प्रोजक्टको अवधारणा आउला अनि अझ धेरै छलफल पनि गर्न सकियो ।  

नेपालीहरूको बानी चाहिँ विश्वमा जहाँ पुगेपनि सामाजिक संस्था भन्ने तर दलको झोला बोकेर राजनीतिक गर्ने प्रवृत्ति छ, त्यस्तै मनसाय देखिएको छ । शान्त र स्वच्छ वातावरण रहेको चीनमा समेत काङ्ग्रेस कम्युनिष्ट, यो वादी र त्यो वादी भन्ने विचारले छोपेको होला नि । यो संस्थाको दीगोपना के होला ?

हामी अहिलेसम्म जो जो यसमा आवद्ध भएका छौँ, यसमा एकदम क्लियर छौँ । चीन मात्रै एउटा त्यस्तो देश होला जहाँ यो एनआरएनए नामक संस्थाभित्र राजनीतिक चलखेल अथवा त्यो किसिमको विभाजन नभएको । अरू देशहरूकै कुरा गर्दा धेरै ठाउँमा त्यस्तो छन् । आईसीसी केन्द्रमै पनि त्यही समस्याले गर्दाखेरि सर्वोच्चको आदेशदेखि लिएर अहिले सबै कुरा कार्यान्वयन गर्ने / नगर्ने, कसरी अगाडि बढ्ने भन्ने अन्योलको स्थितिमा छ । चीनमा मात्रै होला, सायद चीनको नीतिले गर्दा पनि होला अथवा त्यो आवश्यकता नदेखेर पनि होला, साथीहरू लाग्नुभएको छैन । आफ्नो एउटा आस्था त भइहाल्छ नै । नेपालमा गएर भोट गर्छौँ, सपोर्ट गर्छौँ । तर त्यो दलीय राजनीतिलाई चाहिँ हामीले नेपालमै सीमित राखेका छौँ । चीनमा ल्याएर राजनीतिक गर्नु उपयुक्त हुँदैन जस्तो लाग्छ । अहिले जो जो टिममा हुनुहुन्छ, उहाँहरुको सबैको यही नै धारणा छ ।  म त्यही नै आग्रह गर्छु । यो संस्थामा आउनेले चाहिँ संस्थाले के गर्छ, के गर्नुपर्ने हो, त्यसमा सहयोग गर्न र सहभागिताका लागि हो । अरू राजनीतिक फ्याक्टरहरू यसमा मिसाउन कदापि हुँदैन ।

तपाईको प्रतिक्रिया