साझाखबर विश्लेषण
जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गरिँदैछ । सो अन्तर्राष्ट्रिय मञ्चमा करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूले सहभागिताको सुनिश्चितता गरेका छन् ।
नेपालका लागि किन महत्वपूर्ण ?
विश्वव्यापी संवाद मञ्चका रूपमा नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको हो । एक स्थायी कूटनीतिक फोरमका रूपमा वर्षेनी आयोजना गर्ने बताएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म हो ।
जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रूपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न सक्नेछ ।
संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास गर्नेछ, जुन नेपालका लागि एउटा ठूलो अवसर हो ।

सगरमाथा संवादमा चीन र अन्य देशमा नेपालको मध्यस्थता
चीन र नेपालको सिमानामा रहेको सगरमाथालाई पश्चिमा जगतले माउण्ट एभरेस्ट भनेको छ भने चीनले चुमुलाङ्मा भनिरहेको छ । यस डायलग मार्फत् चुचुरोको मौलिक नाम सगरमाथा हो भन्ने जानकारी विश्व समुदायलाई पाउँछ ।
नेपालले चीन र भारतजस्ता ठूला अर्थतन्त्रहरूको हालको उत्सर्जन र विकसित देशहरूको ऐतिहासिक योगदानले यो सङ्कटलाई गहिरो बनाएकोले ठूलो जिम्मेवारी लिनुपर्ने कुरा राख्नुपर्छ । सगरमाथा र हिमालयजस्ता क्षेत्रलाई विश्व सम्पदाका रूपमा संरक्षण गर्न अन्तरराष्ट्रिय सन्धिहरू लागू गर्न, हिमाली क्षेत्रमा अनियन्त्रित पर्यटन र विकास गतिविधिहरूलाई नियमन गर्न, र हिमनदीहरूको संरक्षणका लागि विशेष संरक्षित क्षेत्रहरू स्थापना गर्नका लागि झक्झक्याउनुपर्छ ।
जलवायु परिवर्तनप्रति विश्वव्यापी जागरूकता फैलाउन शिक्षा, मिडिया र सामुदायिक अभियानहरू सञ्चालन गर्ने भएकाले ऊर्जा बचत, फोहोर व्यवस्थापन र दिगो जीवनशैली अपनाउन प्रोत्साहन गर्नसक्छ ।
सगरमाथा र हिमालय सम्पूर्ण मानव जातिको साझा सम्पत्ति हुन् । हिमालमा ‘जीवन’ फर्काउन साझा प्रयास र प्रतिबद्धता जुटाउनुपर्छ भने साझा समस्या निवारणका लागि विश्वलाई एक ठाउँमा ल्याउने, हिमनदीहरू हराउँदा खडेरी, खाद्य असुरक्षा र जनसङ्ख्या विस्थापन जस्ता समस्याहरू बढ्नेतर्फ विश्वको ध्यानाकर्षण गराउने जिम्मेवारी नेपालको छ ।
विकसित देशहरूले जलवायु कोषमा योगदान बढाउन, उनीहरूले विकासशील देशहरूलाई नवीकरणीय ऊर्जा र जलवायु अनुकूलन प्रविधिहरूमा सहयोग गर्न, चीन र भारतजस्ता उदीयमान अर्थतन्त्रहरूले आफ्नो आर्थिक विकासलाई दिगो बनाउन जीवाश्म इन्धनमा निर्भरता घटाउँदै नवीकरणीय ऊर्जामा लगानी गर्नुपर्ने कुरा नेपालले उठाउनु श्रेयस्कर हुनेछ ।
सारमा नेपालले चुरे क्षेत्रको महत्व समाप्त पारेको छ । रैथाने कुरा संरक्षण नगरेर अरूमाथि दोषारोपण गरेको छ । विदेशबाट अनुदानको अपेक्षा गर्छ तर आफैँले ठीक ठाउँमा त्यो क्षतिपूर्तिको प्रयोग गर्न सकिरहेको छैन ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पपछि चीन र नेपाल मिलेर सगरमाथाको उचाई मापन गरेका थिए । यदि नेपालमा यति धेरै हिमश्रृंखला थिएनन् भने अरबौ मानिसहरुको जीवन नै यति सुरक्षित रहने थिएन । किनभने दक्षिण एसिया मात्रै नभएर अन्य क्षेत्रको कृषि प्रणाली र जलश्रोतको उपज भएर समग्र विकास प्रक्रिया हिमालले नै निर्धारण गरेको छ । यसमा नेपालले चीनसँग हातेमालोको प्रयास गर्नुपर्छ ।
तिब्बतको पर्यावरण सुधारमा चीनले धेरै प्रगति गरेको छ । तिब्बतको जीवन नै दीगो विकासको आधार हो । जैविक विविधतामा, वातावरणमैत्री विकासको महत्व बुझेर चीनले यो मनोभावना सहित अगाडि बढेको छ ।
भूबनोट र हिम उत्पादनका हिसाबले नेपालको उत्तर चीनसँग ज्यादा ठूलो सम्बन्ध रहन्छ । दक्षिणतिर पानी बनेर गएको हो । तिब्बती प्लेटो फोक्सो हो भने नेपाली जलश्रोत रगत । यी कुराबीचमा समन्वय नहुँदा भारत, भुटान, पाकिस्तान, हिन्दुकुश सिङ्गो क्ष्रत्रमा असर पर्छ ।

चीन र नेपालबीच बीआरआईमा हस्ताक्षर भएको छ । अतः चीनबाट फाइदा लिनसक्ने वातावरण बनाउन सकेमा नेपालले सगरमाथा डायलगको औचित्यपुष्टि गर्नसक्नेछ । चीनले लगानी गर्ने हो भने नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न भूमिका खेल्न सक्ने छ । साधनश्रोत पनि चीनसँग पर्याप्त छ । अनुसन्धान पत्रहरू हेर्दा चीनको सहभागिता र अग्रसरता उल्लेखनीय छ । हिमाली तथा धार्मिक पर्यटनले जोडिएका मुलुक भएकाले नेपालले कैलाश पर्वतदेखि दक्षिण एसियाली तीर्थयात्रीहरूका लागि सहकार्यको परिपाटी मिलाउनुपर्छ । पर्यटन विकास गर्दा वातावरणमैत्री अवधारणाका साथ दीगो विकासका लागि चीनसँग सहकार्य गर्न सकिन्छ ।
प्राकृतिक सम्पदा सबैको साझा हो । त्यसैले वातावरणमैत्री पर्यटनमा जोड दिनुपर्छ । हिमाल बच्यो भने जलश्रोत बच्छ, अनि जलश्रोत भएमा उर्जा श्रोत बचाउन सकिन्छ । नेपालले हिमाली पर्यावरणका नाममा क्षतिपूर्ति मात्रै पायो भने सही सदुपयोग गर्ने संभावना छैन । अतः रणनीतिक योजना, कार्यक्रम र दीर्घकालीन योजना बनाउनका लागि लगानी चाहिएको छ । नेपालले बलियो कूटनीतिमार्फत् विश्व सहयोग भित्राउन पहल गर्नुपर्छ । वातावरणीय कूटनीति, विज्ञान कूटनीति इत्यादिमा नेपालको कमजोरी सुधार्नुपर्नेछ । अनि मात्रै प्रथम सगरमाथाको सार्थकता झल्किनेछ ।