सगरमाथा संवादको तयारी अन्तिम चरणमा : छ वटा विषयमा केन्द्रित हुने

  १३ घण्टा अगाडि

काठमाडौँ, ३० वैशाख : परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी संवाद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएको मन्त्री राणाले सो कुराको जानकारी दिनुभयो । काठमाडौँमा आगामी जेठ २ देखि ४ गतेसम्म हुने सगरमाथा संवाद ६ वटा विषयमा केन्द्रित हुने छ ।

संवादको मुख्य उद्देश्य ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ हयुमानीटी’ रहेको छ । सगरमाथा संवादमा मानव जगतका विभिन्न समस्याहरू र मुद्दाहरूमा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सरगमाथा संवाद २०२५ लाई सम्बोधन गर्नुहुने भएको छ ।

परराष्ट्रमन्त्री डा. राणाले संवादका मुख्य कार्यक्रममा आमन्त्रित विशियट विदेशी र स्वदेशी पाहुनाहरु सहभागी हुने संवादको मुख्य औपचारिक कार्यक्रम रहेको बताउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीबाट सम्बोधन हुने यस समारोहमा परराष्ट्रमन्त्री डा. राणाले स्वागत मन्तव्य दिनुहुने छ ।

यसैगरी, उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने तथा चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डहरुको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुनाहरु र सिओपी २९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभरयो ।

संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ । यो कार्यक्रम जेठ २ गते शुक्रबार बिहान ९ः३० मा सुरु हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुने छ । 

यसैगरी, अन्तर्राष्ट्रिय सम्मेलनको प्रारुपमा आयोजना गरिने यस संवालको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरु व्यक्त गर्ने प्रयोजनका लागि यो पूर्ण सत्र राखिएको छ । संवादमा सहभागी हुने सबै राष्ट र अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय सङ्गठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ । हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्ड समावेश गरिएको छ । प्रत्येक प्रतिनिधिमण्डलाई पाँच मिनेट बोल्ने समय दिइने छ । कार्यक्रम ११ः३० मा सुरु भइ अपराह्न १ः३० बजे सकिने छ ।

तपाईको प्रतिक्रिया