“गाजामा भोकमरीको भयावह सङ्कट, लाखौं जनसङ्ख्या अत्यन्त जोखिममा”

  ५ घण्टा अगाडि

तेल अभिभ, इजरायल, २९ वैशाख : गाजामा भोकमरी र कुपोषणका कारण स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार हरेक १० हजार जनामा कम्तीमा पाँच वर्षमुनिका चार जना बालबालिकाको दैनिक रूपमा मृत्यु भोक, कुपोषण तथा रोगको संयुक्त असरका कारण भइरहेको देखिएको छ ।

प्रतिवेदनले गाजाको करिब २२ प्रतिशत जनसङ्ख्या करिब चार लाख सतहत्तर हजार मानिस पूर्ण रूपमा भोकमरीको चरम अवस्थामा रहेको जनाएको छ । साथै, थप एक करोड जनसङ्ख्या पनि अत्यन्त गम्भीर खाद्य अभावमा छन्, जसले उनीहरूलाई गम्भीर कुपोषणको जोखिममा पुर्याएको छ ।

सहायता अभावका कारण स्थिति गम्भीर
मानव कल्याणमा संलग्न संस्थाहरूका अनुसार हाल गाजा क्षेत्रको अवस्था युद्धको सुरुदेखिको सबैभन्दा गम्भीर अवस्थामा पुगेको छ । संयुक्त राष्ट्र सङ्घको मानवीय सहायता निकायले पोषण उपचारको खोजी गर्ने बालबालिकाको सङ्ख्या फागुन यता दोब्बर भएको जनाएको छ । तर, उपचारमा प्रयोग हुने सामग्री छिटो सकिँदै गएको छ ।

खाद्यान्नको अभावले धेरै सहायता संस्थाहरूले वितरण कार्यक्रमहरू बन्द गरिसकेका छन् । बजारमा आवश्यक खाद्य वस्तुहरू अत्यन्त महँगो भइसकेका छन्, जसले गर्दा साधारण नागरिकका लागि खरिद गर्न असम्भव भएको छ । खेतीयोग्य भूमि प्रायः नष्ट भइसकेको अवस्थामा पुगेको छ । इन्धनको अभावले पानी आपूर्ति पनि लगभग बन्द हुने अवस्थामा पुगेको छ । (रासस/एपी)

तपाईको प्रतिक्रिया